
काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अयोग्य लडाकूको नाममा राज्यकोषबाट रकम बाँडिए जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको भन्दै उक्त निर्णय तत्काल खारेज नगरे एमालेले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी दिएका हुन् ।
उनले मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रू. एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको आरोप लगाए । शिक्षक तथा निजामती कर्मचारीको पेन्सन भुक्तानीमा समस्या, सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको, राज्यले तिर्नुपर्ने ऋणको साँवा/ब्याज भुक्तानी बाँकीलगायत विषयमा अर्बाै रकम अपुग रहेको अवस्थामा राज्यको रकम मनपरी वितरण गरे एमाले चूप लागेर नबस्ने उनको भनाइ छ ।
स्थानीय तहको सामान्यीकरण बजेट कटौती भएको अवस्थामा अयोग्य लडाकुका चार हजार आठ सय बढी व्यक्तिलाई राज्यको कोषबाट रकम वितरण गर्न नहुने उनले स्पष्ट पारे ।
एमाले प्रमुख सचेतक गिरीले अनमिनको प्रमाणीकरणमा हुँदै नभएका लडाकूको नाममा माओवादी नेतृत्वले यसअघि नै ९५ करोड लगेको र त्यसको हिसाबकिताब समेत स्पष्ट नभएको आरोप लगाए ।
त्यस्तै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा सत्ता पक्षका कार्यकर्ताले नै अवरोध गर्न खोजेको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।















प्रतिक्रिया