
काठमाडौं, १५ वैशाख । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई सरकारले जनही दुई/दुई लाख रुपैयाँ रकम बाँड्ने सरकारको निर्णयबारे नेकपा एमालेसम्बद्ध युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै अर्थमन्त्री महतलाई सात बुँदे ध्यानाकर्षपत्र बुझाएको हो । उनीहरुले उक्त निर्णय कार्यान्वयन नगर्न पनि माग गरेका छन् ।
सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको युवा संघको विज्ञप्तीमा उल्लेख ।
युवा संघका नेताहरूसँगको भेटमा अर्थमन्त्री डा. महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने मन्त्रालयबाट हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । यस विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको उनको भनाइ छ ।
अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट रकम बिनियोजनका विषयमा निर्णय नभएको जिकिर गरे ।
बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनसक्ने भन्दै उनले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै निर्णयमा संलग्न नरहेको पनि पनि स्पष्ट पारे । उनले सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि आग्रह गरेका छन् ।















प्रतिक्रिया