
दाङ, १५ वैशाख । नेकपा माओवादी केन्द्रकी नेत्री एवम् सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा दाङको नारायणपुरबाट लखेटिएकी छिन् ।
चार लेनको सडक निर्माणमा ढिलाइ भएको र आयोजनाको ठेक्का तोड्ने विषयमा स्थानीय र मन्त्री शर्माबीच सवाल–जवाफ हुने क्रममा प्रश्न सुन्न र जवाफ दिन अस्वीकार गरेपछि स्थानीयले उनलाई त्यहाँबाट लखेटेका हुन् ।
ठेकेदारले काम नगरेर विकास आयोजना अलपत्र परेको र उक्त ठेक्का तोडेर नयाँबाट काम गराउन स्थानीयले आग्रह गरेका छन् । तर, मन्त्री शर्माले तत्काल ठेक्का तोड्न सहज नभएको बताएपछि आक्रोशित स्थानीयको भीडबाट लखेटिएकी हुन् ।
निर्वाचनअघि उनले आफू निर्वाचित भएको १५ दिनमा चार लेन सडक निर्माण सुरू गर्ने प्रतिबद्धता जनाए पनि आधा वर्ष पुग्दासमेत कुनै चासो नदेखाएको भन्दै स्थानीयले निर्वाचन जितेपछि शर्माले बोली फेरेको आरोप लगाएका छन् ।
घोराही–तुलसीपुर सडक खण्ड निर्माणको जिम्मा लिएको चार वर्षसम्म सडकको भौतिक प्रगति २० प्रतिशत हुन सकेको छैन । ३० महिनामा काम सक्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एण्ड इन्फ्रा प्रालिले सन् २०१९ फेब्रअरीमा निर्माणको जिम्मा लिएको थियो ।
घोराही–तुलसीपुर सडकखण्डको निर्माण नहुँदा वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुनाका साथै सडकमा परेका खाल्डाखुल्डीले नागरिकलाई सास्ती भइरहेको छ ।















प्रतिक्रिया