२ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा दशगजा क्षेत्र खाली गराउन थालियो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वेदकोट, १४ वैशाख । कञ्चनपुरस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा रहेको अतिक्रमण हटाउन थालिएको छ । दोधारा चाँदनी नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमाको अतिक्रमण हटाएर दशगजा क्षेत्र खाली गर्न थालिएको हो ।

भारतसँग सीमा जोडिएको दोधारा चाँदनी–३ बडुवाल टोलबाट दशगजा क्षेत्रको अतिक्रमण हटाउन थालिएको नगर प्रमुख किशोर लिम्बूले जानकारी दिए ।

“दशगजा क्षेत्रको अतिक्रमण खाली गराउने काम सुरु भएको छ, पहिलो दिन डेढ किलोमिटर क्षेत्र खाली गराएका छौँ”, उनले भने, “यो निरन्तर चल्छ ।” सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारतको सीमा सुरक्षा बल (एसएसबी) र जनप्रतिनिधि लगायतको समन्वयमा संयुक्तरूपमा दशगजा खाली गर्ने काम थालिएको हो ।

दोधारा चाँदनीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाको दशगजा क्षेत्रमा लामो समयदेखि नेपाल र भारत दुवैतर्फ खेतीपाती गरिएको छ । “अहिले खेतीपाती भित्र्याएको अवस्थामा दशगजा खाली गर्न सजिलो भएको छ, दशगजा खाली नहुँदा बेलाबेलामा विवाद हुने गरेको छ”, नगर प्रमुख लिम्बूले भने, “दशगजा क्षेत्र खाली हुँदा यो विवाद हट्नेछ ।”

उनका अनुसार पहिलो दिन दोधारा चाँदनी–३ बडुवाल टोलस्थित मुख्य सीमास्तम्भ आठ सयदेखि सहायक स्तम्भ नम्बर आठ/चारसम्मको क्षेत्र खाली गरिएको छ । उक्त कार्यमा सुरक्षाकर्मीसँगै नगरपालिकाका सर्भेक्षकसमेत खटिएका छन् ।

नियमित कार्यक्रम अन्तर्गत दशगजा खाली गराउने काम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । “दशगजामै घरटहरालगायत पक्की संरचना बनेको ठाउँमा खाली गराउन केही ढिलाइ भएको छ”, उनले भने, “अन्य ठाउँमा दशगजा खाली गराउने काम निरन्तर चलिरहेको छ ।” उनका अनुसार सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना भएदेखि नै एसएसबीसँग समन्वय गरेर दशगजा खाली गर्ने गरिएको छ । कञ्चनपुरमा एक सय २९ दशमलव पाँच किलोमिटर सीमा भारतसँग जोडिएको छ ।