३० कार्तिक २०८३, सोमबार

रमेश खरेलको जमानत जफत, सांसद बन्ने सपना तुहियो

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । गत ४ मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट पराजित भएका नेपाल सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल उपनिर्वाचनमा पनि पराजित भएका छन् ।

उपनिर्वाचनमा विजय हासिल गर्ने आशासहित आफू नेतृत्वको सुशासन पार्टीबाट उम्मेदवार नदिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका खरेल वैशाख १० गते सम्पन्न बारा-२ को उपनिर्वाचनमा पराजित भएका हुन् ।

खरेलको जमानत जफत समेत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।

आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत मात्रै पाउँदा उनको जमानत जफत भएको हो ।

यसअघि खरेलले ४ मंसिरको निर्वाचनमा काठमाडौं-१ मा ३ हजार १२४ मत पाएका थिए ।

बारा–२ उपनिर्वाचनका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो ।

बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र १० प्रतिशत मत कटाएका छन् । सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।