
काठमाडौं, १० वैशाख । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।
नवलपुरको गैडाकोट–१ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन गरिदै आएको छ । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरू गरिएको थियो । गैंडाकोट–१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डला रहेका छन् । केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ ।
केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरूका लागि सहज हुने विश्वास गरिएको छ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० वटा कोडा भएको होटेल, व्याङक्वेट हल र रेष्टुराँ सञ्चालनमा रहने छन् ।
केबलकार सञ्चालन भए पनि होटेल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रूपैयाँ भन्दा बढी लगानी रहेको छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।
त्यसैगरी, उक्त ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रालिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रूपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
आईएमई ग्रुपको लगानीमा सात वटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।















प्रतिक्रिया