
काठमाडौं, ७ वैशाख । नबिल बैंकले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शाखा सञ्चालन गरी विश्वविद्यालयलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
शाखा सञ्चालन, अत्याधुनिक वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संशाधनको वृत्ति विकासका लागि बैंकले पूर्वाञ्चल विश्वविद्यालयसँग समझदारी गरेको छ ।
समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन् ।
समझदारीअन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने र विश्वविद्यालयले मानव संशाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियत दरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकाले समझदारी दुबैको हितमा रहेको छ,’ ढुंगानाले भने ।
समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोईराला, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सञ्जेश प्रसाद कोईरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति थियो ।















प्रतिक्रिया