
तनहुँ, ४ वैशाख । तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँको क्षेत्र नं १ लाई उत्कृष्ट बनाउने बताएका छन् । चुनावी अभियानका क्रममा भानुमा कार्यकर्ता भेटघाट तथा सभालाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन् ।
देशमा प्रचुर सम्भावना भएको तर जिम्मेवार पदमा रहेर पनि पदीय भूमिका ननिभाउँदा विकास निर्माणमा पछि परेको उनको भनाइ छ । उनले जिल्लामा राष्ट्रिय राजनीतिमा पकड राख्ने नेताहरु भएता पनि काम नगर्दा जनतामा नैराश्यता छाएको बताए । उनले आफूलाई काम गर्न सक्ने आत्माविश्वास रहेको भन्दै जनताको आवश्यकतालाई ध्यान दिएर काम गर्ने बताए ।

‘देशको कानुन विश्वमा नै उत्कृष्ट भएता पनि कार्यन्वयनको पाटो फितलो हुँदा जनताले दुःख पाएका छन् । सांसद, मन्त्री हुने तर लाचारी प्रकट गर्ने नै नेपालको दुर्भाग्य हो ।’ उम्मेदवार खनालले भने, ‘ नेतृत्वमा रहने तर यस्तै छ भन्ने प्रवृत्तिले जनताको आवश्यकता पूरा नहुने हुँदा व्यवहारिक कार्यन्वयनका लागि उम्मेदवारी दिएको हुँ ।’
देशमा भष्ट्राचार, अनियमितता र ढिलासुस्ती रहेको उल्लेख गदै उनले विगतमा आफ्नो नेतृत्वमा ठूलो ठूलो योजनाले मुर्त रुप लिएको बताउँदै आत्माविश्वासका साथ काम गर्ने पनि खनालले बताए । क्षेत्र नं १ विकास निर्माण मा उत्कृष्ट बन्छ नै, जिल्ला हुँदै देशमा नै तनहुँको प्रभाव रहने गरी काम गर्ने पनि उम्मेदवार खनालले बताए ।
सम्बन्धित जिम्मेवार निकायलाई नियमन गर्न सकिने हुँदा काम गर्ने ईच्छाशक्ति र खुवी आफुमा भएको समेत उनले बताए । तनहुँको क्षेत्र नं १ विकास निर्माणमा पछाडी परेको हुँदा आफनो जित पछि विकास निर्माणमा फड्को मार्ने पनि खनालले बताए । जनताको आर्थिक अवस्था पछाडी पर्नुमा अहिलेको नेतृत्वको कमजोरी रहेको हुँदा सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्र रहेको हुँदा त्यसलाई चिर्न सक्ने ल्याकत आफूमा रहेको उनको भनाइ छ ।












प्रतिक्रिया