
बारा, ३ वैशाख । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ मा एमालेको जित सुनिश्चित भएको भन्दै जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् ।
बारा क्षेत्र नम्बर २ को करैयामाई गाउँपालिका मधुबन बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो बताएका हुन् । सभालाई सम्बोधन गर्दै पौडेलले यस क्षेत्रमा जित्ने सांसदले जनतालाइ धोका दिएको भन्दै आफू जितेर जाने बितिक्कै बारा-२ को स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासमा काम सुरु गर्ने बताए । अन्य दलले यस बारा-२ लाई उपेक्षा गरेको उनको भनाइ छ ।
यसैगरी, एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले एमालेका उम्मेदवार पौडेलबाहेक सबै उम्मेदवार मंसिर ४ मा जनताबाट अस्विकृत गरेका भएको उल्लेख गर्दै उनीहरुलाई बाराले पनि स्विकार नगर्ने बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीले अन्तबाट पाहुना आएका उम्मेदवारलाई यहाँका जनताले मत नदिने बताए ।
त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले एमाले गरिब जनताको मर्म र भावना बुझ्ने पार्टी रहेको बताउँदै जातिवादको नारालाई जनताले पाखा लगाउने बताइन् । उनले एमालेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन् ।
रामाधार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बलबिर चौधरी ,सरस्वती चौधरी, मञ्जु थापा, त्रिलोक चौधरी, देवनारायण चौधरी, मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा यस क्षेत्रका हजारौं मतदाताको उपस्थित रहेको थियो ।
यसैगरी शनिबारनै उम्मेदवार पौडेलले देवताल गाउँपालिकामा घरदैलो तथा मतदातासँग भेटघाट छलफल गरेका थिए ।












प्रतिक्रिया