
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई प्यानलबाट उम्मेदवार दिएकी श्रेष्ठ एसोसिएट तर्फको उपाध्यक्षमा विजयी भएकी हुन् ।
श्रेष्ठले आफ्नो प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गरेकी हुन् । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र आचार्यले ७ सय ८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन् ।
उनले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गरिन् । उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाइन् ।
यसैगरी महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् भने जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन् । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।












प्रतिक्रिया