३ कार्तिक २०८३, मंगलबार

देश बदल्न अब एजेण्डा बदल्नुपर्छः उपाध्यक्ष पाण्डे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३० चैत । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४औँ शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहमा बुधबार उनले साँच्चै राजनीतिक दलहरूले देश बदल्ने हो भने सबैले आ–आफ्नो एजेण्डा बदल्नुपर्ने बेला भएको बताए । उनले देशमा गणतन्त्र आइसकेपछि परिस्थिति बदलिएको भन्दै दलले पनि अब पुराना एजेण्डा बोकेर हिँडेर देशलाई नयाँ ठाउँमा पुर्‍याउन नसक्ने उल्लेख गरे ।

अहिले चर्चामा भएजस्तो नेपालको अर्थतन्त्र खराब अवस्थामा पुगिनसकेको उपाध्यक्ष पाण्डेको भनाइ छ । “अर्थतन्त्रको अवस्था खराब म देख्दिनँ”, उनले भने, “अर्थतन्त्र बिग्रियो भन्नेभन्दा पनि मान्छेको आवश्यकता र चाहना बढेको हो ।”

उपाध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमात्र देशको विकास र समृद्धि छिटो हुने बताए । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए । “जसले ज्ञानमा लागनी गर्न सक्यो त्यही अगाडि आउने रहेछ”, उनले भने, “शिक्षामा लगानी बढाउने र गुणस्तर बढाउनेतर्फ शिक्षक संगठनका नेताहरू लाग्नुपर्छ ।” उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहँदा विद्यालयमा बालिकाहरूका लागि अनिवार्य स्यानिटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिशत बजेट विनियोजन गरेको बताए ।