३० आश्विन २०८३, शुक्रबार

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री रेखा शर्मा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै आज मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको बताएकी हुन् ।

विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौँ ।’

पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामुहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरिन् । उनले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनुपर्ने अवस्था राम्रो होइन । यो लोकतन्त्रका लागि नराम्रो हो ।’

उनले काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । सरकारले भवन बनाउने पैसा विनियोजन गरेको र सो पैसा आर्थिक वर्षको अन्त्यसँगै फ्रिज हुने क्रममा रहेको मन्त्री शर्माले बताइन् । आगामी आर्थिक वर्ष सुरू हुनुअघि नै जग्गा व्यवस्थापन गरे भवन निर्माणको पैसा निकासा हुने मन्त्री शर्माको भनाइ थियो ।

कार्यक्रममा महासंघको काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले समानुपातिक विज्ञापन र पत्रकारका लागि नि:शुल्क स्वास्थ्य सेवाका लागि मन्त्री शर्माको ध्यानाकर्षण गराए । ‘विज्ञापन बोर्ड पत्रकार बचाउनेभन्दा पनि नियमनकारी भूमिकामा बढी हाबी छ । विज्ञापनका लागि चाकडी गनुपर्ने अवस्थाको अन्त्य नभए अधिकांश सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन्,’ अध्यक्ष सुवेदीले भने ।

वार्षिक साधारणसभाका अवसरमा शाखाले स्थापना गरेको आदर्श पत्रकारिता पुरस्कार, २०७९ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान गरिएको थियो ।