३० आश्विन २०८३, शुक्रबार

निर्वाचनमा उम्मेदवारले जनतालाई इमोसनल कुरा गर्ने होइन, एजेण्डा भन्ने हो : केपी ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा होमिएका उम्मेदवारहरूले ‘इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरू जनातालाई सुनाउनुपर्ने बताएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आफ्नो पार्टीको उम्मेदवारलाई मतदाताले आर्शीवाद दिइरहेको तस्वीर फेसबुकमा राख्दै उनले जनतालाई इमोसनल कुरा गर्न नहुने बताएका हुन् ।

केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषयले तनहुँ क्षेत्र नं. १ का जनतालाई कुनै फाइदा नगर्ने बताउँदै उनले उम्मेदवारले आफ्नो भन्दा धेरै जनताको कुरा सुन्नुपर्ने बताएका छन् ।

जनताको कुरा सुन्न तथा धेरै भन्दा धेरै युवा मतदाताको सहभागितामा रचनात्मक कार्यक्रमहरु गर्न उनले आफ्ना उम्मेदवार सर्वेन्द्र खनाललाई आग्रह गरेका छन् ।

तनहुँ भन्नेवित्तिकै बन्दीपुरबाट देखिने रमाइलो दृश्यहरू स्मरण गर्दै अध्यक्ष ओलीले समय मिल्दा सुन्दर तनहुँ घुम्न जाने इच्छा व्यक्त गर्नुभएको छ ।

यस्तो छ अध्यक्ष ओलीको भनाइ–

तनहुँ भन्नासाथ म बन्दीपुरबाट देखिने रमाइला दृश्यहरु सम्झन्छु । सम्झँदा पनि मन आनन्दित हुन्छ । तनहुँ–१ मा वैशाख १० गते हुने उप–चुनावको प्रचार अभियानलाई मैले नियालीरहेको छु ।

नेकपा (एमाले)का सर्वेन्द्र खनाल सहित अरु उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मलाई लाग्छ – तनहुँलाई कस्तो बनाउने भन्ने विषयमा उम्मेदवारहरुले ’इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरु मतदाताहरुलाई वताउन् । मैले हाम्रो पार्टीका उम्मेदवार सर्वेन्द्रजीलाई पनि भनेको छु– यो केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषय मात्रै भयो भने त्यसले जनतालाई फाइदा गर्दैन ।

तसर्थ हामी आफ्नो कुरा गर्ने भन्दा धेरै जनताका कुरा सुनौं, धेरै भन्दा धेरै युवा मतदाताको सहभागितामा रचनात्मक कार्यक्रमहरु गरौं । समय मिल्यो भने सुन्दर तनहुँ घुम्न म फेरि पनि आउँछु है !!