३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई गगनको चेतावनी : कामकारबाही चित्त बुझ्दो छैन, विकल्प खोज्न नपरोस् (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अब प्रधानमन्त्रीले परिणाममूखी काममा केन्द्रित हुनुपर्ने बताउँदै अहिलेसम्मको कामकारबाहस्बाट सन्तुष्ट हुने ठाउँ नरहेको बताएका हुन् ।

सरकारको साझा न्यूनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्नेमा जोड दिदै महामन्त्री थापाले साझा न्यूनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रित हुनुपर्ने बताए ।

थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टीम बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरे ।

थापाले जनतालाई प्रत्यक्ष अनुभव हुनेगरी काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

यस्तै, उनले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी पनि गरेका छन् । प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उनले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गरे । ‘हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ । म चकित परिरहेको छु ।’

महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन । प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो । प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ । टीमलाई चलाएर अघि बढ्नुपर्छ। तर अहिलेसम्म त्यस्तो देखिएन ।’