
काठमाडौं, २४ चैत । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले प्रहरी प्रशासनको दुरुपयोग गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोकको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको ठाडो निर्देशनमा स्ववियु निर्वाचन रोकिएको बताएका हुन् ।
उच्च अदालत पाटनको आदेश बमोजिम काठमाडौंको अस्कल क्याम्पसमा आजसम्ममा चुनाव भइसकेको हुनुपर्ने भए पनि कुलपति समेत रहेका प्रधानमन्त्रीले हुन नदिएको आरोप उनले लगाएका छन् ।
चैत ५ गते चुनाव हुन नसकेपछि त्यसविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले अस्कललगायत चार वटा क्याम्पसमा तत्काल चुनाव गर्न आदेश दिएको स्मरण गर्दै उनले भने, ‘अदालतको आदेशबमोजिम आज अस्कलमा स्ववियु चुनाव हुन्थ्यो, तर सरकारको निर्देशनमा प्रधानमन्त्री स्वयम् विश्वविद्यालको कुलपति हुनुहुन्छ । उहाँको निर्देशनमा गृहमन्त्रीले उपत्यकाभरका सुरक्षाकर्मीलाई अस्कल क्याम्पसमा पठाएर चुनाव स्थगित गर्ने काम गरियो, अनिश्चितकालीन रुपमा चुनाव स्थगित गरिएको सूचना टाँस गरियो ।’
सरकारले सत्ताको दुरुपयोग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशमा अस्कललगायत क्याम्पसमा चुनाव रोकिएको सचेतक बर्तौलाको भनाइ छ ।
अदालतको आदेश अनुसार भोलि पाटनमा हुने स्ववियु चुनाव पनि सरकारले रोक्न खोजेको भन्दै उनले चुनावमा शान्ति सुरक्षा कायम गर्नुको सट्टा आफूनिकट विद्यार्थी संगठनले हार्छन् भन्ने त्रासले सरकारले स्ववियु चुनाव भाँड्दै, प्रहरी परिचालन गर्दै हिँडिरहेको बताएका छन् ।















प्रतिक्रिया