३० आश्विन २०८३, शुक्रबार

‘फ्लायर्स फिल्म अवार्ड्स’को मिति सर्‍यो, अब कहिले आयोजना हुन्छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २४ चैत । कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको ‘प्रथम फ्लायर्स फिल्म अवार्ड्स’को मिति सरेको छ ।

यही चैत २५ गते आयोजना गर्ने तयारी गरिएको अवार्ड कार्यक्रम अब आगामी वैशाख १६ गते हुने आयोजक कम्पनी ‘ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट’ले जनाएको छ ।

पूर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउँदै आयोजकले मिति सारेको हो । जैन भवन विराटनगरमा गर्ने भनिएको कार्यक्रम अब सिटी प्यालेस विराटनगरमा हुनेछ । अवार्ड समारोहको मिति यो तेस्रो पटक सरेको हो ।

यसअघि स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको कारण कात्तिक ५ गते आयोजना गर्ने भनिएको थियो । तर, सो मितिमा पनि आयोजना हुन नसकेपछि विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले चैत २५ को मिति सार्वजनिक गरेको थियो ।

ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्ने यो अवार्डका लागि विभिन्न संघसंस्था, मल्टिनेसनल कम्पनी तथा उच्च अहोदाका ब्यक्तिहरुले चासोका साथ हेरेको र सहयोगको बाचा गरेको समेत परिकल्पनाकार तथा निर्देशक साईमन राजबंशीले जानकारी गराए ।

सहयोगी संस्थाहरुलाई अनुबन्ध गर्ने क्रम समेत बाँकी रहेका कारण पनि मिति परिवर्तन गर्न बाध्य भएको राजबंशीको भनाइ छ । बिराटनगरमा पुरै तामझाम सहित गरिने अवार्ड शोको नोमिनेसन लिस्ट चाँडै सार्वजनिक गर्ने तयारी आयोजकले गर्दैछ ।

यस्तै आयोजक टिमका अनुसार प्रदेश १ मा रहेका डान्सरहरुलाई नि:शुल्क कोरियोग्राफी गरेर अवार्ड समारोहमा प्रस्तुती दिने मौका समेत उपलब्ध गराउदैछ, जसको लागी छनोट कार्य समेत भइरहेको छ ।

आयोजकका अनुसार २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपालि चलचित्रहरुबाट बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधामा अवार्ड वितरण गरिने छ ।

प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति, भेषभूषा, संस्कार तथा पहिचान झल्काउने बिभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्धारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

साइमन स्वयम र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार लगिनेछ । अवार्ड समारोहमा राष्ट्रियस्तरका फिल्मकर्मीहरुको जम्बो टोलि ल्याउनलाई भेटघाट गरिरहेका छन् ।