
काठमाडौं, नेकपा एमालेले करिब डेढ महिनायता सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत पछिल्ला कार्यक्रमहरू समीक्षा र अनुगमनमा केन्द्रित हुन थालेका छन् ।
धेरैजसो पालिका र वडाहरूले सम्पन्न गरिसकेका कार्यक्रमहरूबारे समीक्षा र अनुगमनका लागि अनुगमनकर्ताहरू तोकिएका जिल्ला, पालिका र वडा तहमा पुगेका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
सुर्खेत
नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरूट अभियान देशैभर भव्यरूपमा सञ्चालन भइरहेको छ । अभियानका लागि केन्द्र र प्रदेशबाट नेताहरू प्रतिनिधिको भूमिकामा देशका हरेक क्षेत्रमा खटिनुभएको छ ।

यसैबीच, नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेल भन्दामाथि रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव गुरुङले एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताउनुभएको हो ।
सरकारमा जान दायाँबायाँ गरेर पार्लियामेन्ट अस्थिर बनाउने काम नगर्ने भन्दै उहाँले पार्टी सुदृढीकरण तथा शुद्धीकरणका लागि आफूहरू मिसन ग्रासरुट अभियानमा केन्द्रीत रहेको स्पष्ट पार्नुभयो । देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उहाँको धारणा छ ।
दैलेख
दैलेखको ठाटीकाँध गाउँपालिकामा मिसन ग्रासरूट अभियानअन्तर्गत पालिकास्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता र गाउँकमिटीका अध्यक्ष कुमारविक्रम शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पालिकाका ६ वटै वडाका भएका मिसन ग्रासरूटको गतिविधिहरूबारे समीक्षा गरिएको थियो । जिल्ला तथा, प्रदेशबाट अभियानका लागि खटिनुभएका प्रतिनिधिहरूले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य डा. शिवामाया तुम्बा हाम्फे, केन्द्रीय सदस्य चन्द्रबहादुर विश्वकर्मा, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, प्रदेश कमिटी सदस्यहरू, एमाले दैलेख जिल्ला कमिटी अध्यक्ष रविन्द्रराज शर्मा, जिल्ला कमिटी सदस्यहरू तथा पार्टीका जनवर्गीय संगठनका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
म्याग्दी
नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले मिसन ग्रासरुट अभियानले पार्टीभित्र सकारात्मक रक्तसञ्चार गरेको बताउनुभएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत म्याग्दी जिल्लामा भएका गतिविधिहरूको अनुगमन गर्ने क्रममा उहाँले पार्टी सुदृढीकरणका लागि अभियान फलदायी बनेको बताउनुभयो ।

अभियानले पार्टीलाई थप उत्साहित, जुझारु र सशक्त बनाएको बताउँदै उहाँले पार्टी संगठनहरूको काम निकै माथि उठेको धारणा व्यक्त गर्नुभयो । अनुगमनका क्रममा उहाँले अहिलेसम्म भएका कामको प्रगति विवरण लिनुभएको छ । साथै बाँकी रहेका कार्यक्रमरू समय अवधिभित्रै सक्न पनि दिर्नेशन दिनुभएको छ ।
त्यसक्रममा उहाँले नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका स्थानीय ध्रुब महतलाई पार्टीमा स्वागत गर्नुभयो ।
जुम्ला
मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका कमिटीको समीक्षा बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र गाउँ कमिटीका अध्यक्ष पूर्ण पाण्डेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल र जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले अभियानमा सक्रिय हुनुभएका नेता–कार्यकर्तालाई धन्यवाद दिँदै पार्टी निर्माणको काम निरन्तर अघि बढाउन निर्देशन दिनुभयो ।
अभियानका क्रममा आठैवटा वडामा गरी ८५ प्रतिशत सदस्यता नवीकरण भएको छ भने नयाँ सदस्यताका लागि आवेदन भर्नेहरूको संख्या पनि उत्साहजनक देखिएको छ ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–२९ मा पार्टी र जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यसअघि अन्तरक्रिया कार्यक्रम वडा नम्बर १७ र २१ लगायतका वडाहरूमा पनि सम्पन्न भइसकेको छ ।

यस्तै, वडा नम्बर नौ मा नयाँ बर्षको क्यालेन्डर बिमोचन, शुभकामना आदानप्रदान र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेताहरूले प्रशिक्षणसमेत दिनुभएको थियो ।
नवलपुर
मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका ३ नम्बर वडा कमिटी वैठक ढोडेनीमा र वडा नं १,२,४,५,६,७,८ र ९ को पदाधिकारीहरू र अभियन्ताहरूको संयुक्त बैठक विजयचोकस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले हालसम्मको कामको समिक्षा गर्दै बांकी कार्ययोजना पनि बनाएको छ ।
गोरखा
गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ थुमीमा वडा स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य किशोरविक्रम मल्लको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष विशाल लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सचिवालय सदस्य सुरेन्द्र थापा, प्रदेश सदस्य भिम धमला, राम प्रसाद शर्मा, प्रदेश सल्लाहकार सदस्य तेजबहादुर धमला लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
भेलाले सदस्यता नवीकरण गर्ने, टोल कमिटीको बैठक गर्ने र वडातहमा जनसङ्गठन गठन गर्ने निर्णय गरेको छ । कार्यक्रममा अग्रज कार्यकर्ता ८२ वर्षीय गजबहादुर आले, ७० वर्षीय टीका प्रसाद लामिछाने, ७२ वर्षीय खजुरी नेपाली र ७० वर्षीय तेजबहादुर थापालाई सम्मानसमेत गरिएको थियो ।















प्रतिक्रिया