३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेविरुद्ध चार उजुरी : नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ चैत । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन् ।

तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले ई–मेलमार्फत दर्ता गराएका हुन् । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका छन् ।

नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता गराएका हुन् ।

दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ ।

उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा भोलि बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपनिर्वाचनका लागि यस क्षेत्रमा १२ राजनीतिक दलका सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।