३० आश्विन २०८३, शुक्रबार

एमाले उम्मेदवार खनालको दाबी : मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे सार्वजनिक गर्छु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २१ चैत । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले आफूसँग धेरै नेताहरूको कर्तुत ‘कुण्डली’ रहेको र आवश्यक पर्दा जनताको माझमा सार्वजनिक गर्ने बताएका छन् ।

मंंगलबार नेकपा एमालेको व्यास नगर कमिटीको बैठकलाई दमौलीमा सम्बोधन गर्दै उम्मेदवार खनालले आफू प्रहरी सेवाको नेतृत्वमा रहँदा मुलुकमा गुण्डाराजका साथै अन्य थुप्रै विकृति र विसंगतीहरूको अन्त्य गर्न सफल भएको र थुप्रै नेताहरूको कर्तुत आफूसँग रहेको बताएका हुन् ।

‘मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्न सक्छु,’ उनले भने, ‘गुन्डाराजको अन्त्य मेरै पालामा भएको हो । ललितानिवास काण्डको फाइल खोल्न खोज्दा ममाथि षडयन्त्र पनि भयो ।’ आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको दाबी उनको छ ।

साथै, आफूले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा समेत धेरै काम गरेको चर्चा गर्दै उनले आफ्नो जागिरे जीवनकालमा सधैं जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको बताए । यस्तै, सरकार र द्वन्द्वरत पक्षबीच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेश आन्दोलन, विप्लव समूहको शान्ति प्रक्रियामा अवतरण र पृथकतावादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउने कामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको खनालको भनाइ छ ।

उम्मेदवार खनालले तनहुँ–१ मा आफू निर्वाचित भए तनहुँलाई गर्व गर्नलायक जिल्ला बनाउने उद्घोष पनि गरेका छन् । राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्लाका रुपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

तनहुँ–१ का जनताको सेवाका लागि आफू चुनावी मैदानमा आएको र तनहुँको मात्रै नभइ देशकै छोरा बन्ने प्रयत्नमा रहेको बताउँदै उहाँले आफूलाई अत्यधिक मतद्वारा विजयी गराउन मतदाताहरूसँग अपील गरेका छन् ।