३० आश्विन २०८३, शुक्रबार

मिटरब्याज पीडितलाई घर फर्किन सरकारको आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । सरकारले मिटरब्याजी समस्या समाधान हुने भन्दै आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेको छ ।

आज मंगलबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको र यसको कार्यालय जनकपुरमा नै राख्ने निर्णय गरिसकेकाले आफ्नो ठाउँमा फर्कन मिटरब्याज पीडितलाई आग्रह गरेकी हुन् ।

प्रवक्ता शर्माले सरकारले गठन गरेको आयोगमार्फत मिटरब्याज पीडितको समस्या सधैंका लागि समाधान हुने जिकिर गरेकी छिन् । आयोगले सबै मिटरव्याजी समस्याको समाधान गर्ने सरकारको विश्वास रहेको उनले बताइन् ।

प्रवक्ता शर्माले दलहरुसँग छलफल गरि छिटै मन्त्रीपरिषद्ले पूर्णता पाउने जानकारी दिइन् । उनले सरकारको १०० दिनमा धेरै उपलब्धी भएको भन्दै आगामी दिनमा थप प्रभावकारी काम गर्ने जिकिर गरिन् ।

त्यस्तै मन्त्रीपरिषद्का निर्णयबारे जानकारी दिदै प्रवक्ता शर्माले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण पहिलो संशोधन नियमावलीलाई स्वीकृत गरिएको, शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड खारेज गर्ने, सवारी तथा यातायात ऐन २०४९ को अनुसूचि २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिइन् ।

बैठकले मन्त्रीपरिषद्का बिभिन्न समिति गठन गर्ने र मन्त्रीपरिषद् विधेयक समितिबाट पेश भएको मेलम्ची खानेपानी विकास समिति गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।