३० आश्विन २०८३, शुक्रबार

सरकारमा दायाँबायाँ गरेर संसदलाई अस्थिर बनाउने काम एमालेबाट हुँदैन : पृथ्वीसुब्बा गुरुङ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ चैत । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सरकारमा दायाँबायाँ गरेर संसदलाई अस्थिर बनाउने खेलमा एमाले नलाग्ने बताएका छन् ।

आज मंगलबार सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव गुरुङले एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा रहेकाले सरकार र संसदलाई अस्थिर बनाउने काममा नलाग्ने बताएका हुन् ।

‘नेकपा एमाले अब सत्ता तोड्ने र जोड्ने खेल भन्दा माथि रचनात्मक प्रतिपक्षको भूमिकामा पुगेको छ,’ उनले भने, ‘एमाले शालीन तर सशक्त प्रतिपक्षको भूमिकामा पुगिसकेको छ, अब हामी मुलुकलाई अस्थिर बनाउने तत्वहरूकाविरुद्ध सशक्त आवाज उठाउँछौँ ।’ राष्ट्रको पक्षमा काम गर्दा शालीन र रचनात्मक तर राष्ट्रिय हितविपरीतको काम हुँदा एमाले जुझारु प्रतिपक्ष बन्ने उनको भनाइ छ ।

एमाले सरकार र सदनलाई अस्थिर बनाउन नभई आफ्नो पार्टीलाई सुदृढ र विस्तारित बनाउन ‘मिसन ग्रासरुट’ अभियउान लिएर गाउँ–गाउँ र टोल–टोलमा पुगेको बताउँदै उपमहासचिव गुरुङले अहिले एमालेको सम्पूर्ण ध्यान मिसन ग्रासरुट अभियानमा रहेको स्पष्ट पारे ।

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उनले बताएका छन् । सरकारले हनिमुन बिताइसके पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा देशमा अझै राजनीतिक अस्थिरताको खेल कायमै रहेको भन्दै उनले एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरु गर्ने जिम्मेवारी रहेको बताए ।

‘कर्णाली सरकारलाई एमालेले विश्वासको मत दिनु विशेष परिस्थितिको उपज हो,’ पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलन हुने भएकाले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको उपज हो ।’