
कर्णाली, २१ चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी अन्त्य गर्न सबैको गम्भीर सरोकार रहनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा कर्णाली प्रदेश सचिवालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले कर्णालीमा आज पनि गरिबीको रेखामुनि रहेका जनसंख्या अधिक भएकाले गरिबी न्यूनीकरणमा सबैको ध्यान जानुपर्ने बताए ।
उनले भने, ‘गरिबीको रेखामुनि रहेको कर्णालीलाई माथि उठाउनका लागि सबै क्षेत्र अग्रसर हुनुपर्छ । यसमा बहस छलफल भइरहेको छ । कर्णालीलाई विकास र समृद्धितर्फ अगाडि बढाउन हामी जो जहाँ छौँ, त्यहीबाट सुरु गर्ने अभियान थालौँ ।’
उनले समाज परिवर्तनका लागि व्याख्या गर्नेभन्दा मुख्य कुरा बदल्ने हो भन्दै जनताको अवस्था बदल्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । ‘व्याख्या दुनियाँले गर्छ, मुख्य कुरा बदल्ने नै हो,’ उनले भने ।
नीति निर्माण र कार्यान्वयनमा सबैले अपनत्व लिएमात्र अपेक्षित परिणाम आउने बताएका मुख्यमन्त्री शर्माले दिगो विकासका सन्दर्भमा आर्थिक सम्पन्नता र सामाजिक न्यायको पाटोलाई उचित तवरले अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य, मन्त्री तथा सचिवको सहभागिता रहेको थियो ।















प्रतिक्रिया