३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड मिटरब्याज पीडितसँग भेटवार्ता गर्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शनिबार बिहान मिटरब्याज पीडितसँग भेटवार्ता गर्दैछन् ।

पीडितसँग भेटघाट गर्न बिहान ९ बजे समत तोकिएको छ । भेटवार्ताका लागि पीडित अहिले प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदैछन् । पीडितले भेट्न चाहेपछि प्रधानमन्त्रीले उनीहरुका लागि आज बिहान ८ बजेका लागि समय तोकेका थिए । तर, उनीहरु पैदलै हिँडेर जानु पर्ने भएका कारण निर्धारित समयमा पुग्न नसकेका हुन् ।

पीडित पक्षका तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवानले प्रधानमन्त्री दाहालसँग भेट्वार्ता गर्ने समय तोकिएको बताए । उनले भने,‘हामीले आफ्ना पीडा प्रधानमन्त्रीलाई राख्न चाहेका थियौं । उहाँलाई बसेकै ठाउँमा आइदिन भनेका थियौं । तर, उहाँले भ्याउनु भएन । त्यसो हुँदा हामी आफै बालुवाटार जाँदैछौं । नौ बजेतिर हाम्रो उहाँसँग भेटवार्ता हुने कार्यक्रम छ ।’

पीडित र सरकार पक्षबीच शुक्रवार पनि वार्ता भएको थियो । तर, वार्ता विना निश्कर्ष टुंगिएको थियो । सरकारले पीडितसँग वार्ता गर्न मंगलबार गृह मन्त्रालयकी सहसचिव दुर्गादेवी शर्माको नेतृत्वमा समिति गठन गरेका थियो । समिति गत मंगलबार नै वार्ता गर्ने तयारीमा थियो । तर, पीडितको पक्षबाट तयारी नपुगेका कारण वार्ता हुन सकेको थिएन ।

सरकारी पक्षबाट गृहकी सहसचिव शर्माको नेतृत्व गठित समितिमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् ।

त्यस्तै पीडित पक्षबाट गठित समितिमा पासवानसहित संघर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव सदस्य रहेका छन् ।

पीडित ११ दिन पैदल हिँडेर गत आइतबार काठमाडौं आइपुगेका थिए । गत २ चैतमा महोत्तरीबाट हिँडेका उनीहरु हेटौंडा–भीमफेदी हुँदै काठमाडौं आएका थिए ।

काठमाडौंमा उनीहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न खोजेका थिए । तर, काठमाडौं महानगरपालिकाले नदिएपछि उनीहरु खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसेका थिए । त्यसको भोलीपल्ट उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका थिए ।