२९ आश्विन २०८३, बिहिबार

नेपालको पर्यटन प्रवर्द्धनका लागि न्यूयोर्कमा छलफल, कसले के भने ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क (अमेरिका), १७ चैत । नेपालमा पर्यटक भित्र्याउने पहलस्वरूप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ ।

‘आफूलाई नेपालमा पुन: कल्पना गर्नुहोस्’ भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सदभाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरूले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतीहरूका बारेमा धारणा व्यक्त गरेका थिए ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूबारे निर्माण गरिएको वृत्तचित्रबाट सुरू भएको कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुन:कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुन:प्राप्तिमा गरेको योगदानबारे प्रष्ट पारेका थिए ।

त्यस्तै, प्यासिफिक एशिया ट्राभल एसोसिएशनका न्यूयोर्क च्याप्टर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवम् नेपालीको मन निकै न्यानो भएकाले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरूलाई आग्रह गरे ।

त्यस्तै युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवम् योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताए ।

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवम् अविस्मरणीय सम्झनाहरू सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताए ।

त्यस्तै, लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेञ्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको चर्चा गरे ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्वध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवर्द्धन एवम् व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताए । त्यस्तै टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि थप कदम चाल्न तयार रहेको बताए ।

कार्यवाहक महावाणिज्यदूत गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गरे । उनले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको समेत जानकारी दिए ।

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरू, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरू, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरूको उपस्थिति थियो ।

प्यासिफिक एशिया ट्राभल एसोसियशनसँगको सहकार्य एवम् क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दूतावासले कार्यक्रम गरेको हो ।