
काठमाडौं, १७ चैत । उपत्यकामा विभिन्न व्यक्तिहरूलाई डलर साटिदिने भन्दै साढे ३० लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ घर भई भक्तपुर बालकोट बस्ने २८ वर्षीय भीमबहादुर तामाङ छन् ।
उनलाई भक्तपुर बालकोट बसपार्कबाट चैत १५ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनको साथबाट केही डलरसमेत बरामद भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।
भक्तपुरको दधिकोटबाट १९ लाख, ललितपुर चाँगाथलीबाट २ लाख, ललितपुर सानोगाउँबाट ४ लाख र बालकोटबाट ५ लाख ५० हजार लुटपाट भएको भन्दै कार्यालयमा उजुरी परेको थियो । उजुरीमाथि अनुसन्धान गर्दा तामाङको संग्नता रहेको खुलेपछि पक्राउ गरी आवश्यक कारबाहीका लागि वृत्त सातदोबाटो पठाइएको राठौरले बताए ।
तामाङले २०७७ असोज २५ गते जिल्ला सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका विक्रम गिरीलाई नक्कली सुन देखाएर पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार तामाङ गत पुसयता डलरको ठूलो कारोबारमा संलग्न व्यक्ति हुन् ।
उनले आधा रुपैयाँ सस्तोमा डलर साटिदिने भन्दै सुरूमा बोलाउने गर्थे । एकान्त ठाउँमा लगेपछि पैसा लुटेर भाग्ने गरेको पाइएको छ ।















प्रतिक्रिया