बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

रवि लामिछाने भन्छन्– एकको बदला तीन लिएर संसद छिर्ने सपना छ

दैनिक नेपाल २०७९ चैत १६ गते २३:०२

काठमाडौं, १६ चैत । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले एक जनाको बदला तीन जना लिएर संसद छिर्ने आफ्नो सपना रहेको बताएका छन् ।

बारा निर्वाचन क्षेत्र नंं २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नंं १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचन र त्यसबाट आउने सम्भावित नतिजालाई लक्षित गर्दै उनले ‘एकको बदला तीन लिएर’ संसद छिर्ने बताएका हुन् ।

‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउनेछन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ,’ उनले आज अबेर फेसबुकमा लेखेका छन्, ‘एकको बदला तीन लिएर संसद छिर्ने सपना छ ।’

आगामी निर्वाचनमा तीन वटै क्षेत्रमा रास्वपाले जित हासिल गर्ने र आफूसहित थप दुई जना सांसद लिएर संसद छिर्ने सपना अध्यक्ष लामिछानेको छ । रास्वपाले चितन–२ मा स्वयम् अध्यक्ष रवि लामिछाने, बारा–२ मा रमेश खरेल र तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा पठाउने तयारी गरेको छ ।

यीमध्ये अध्यक्ष लामिछाने यसअघि सोही क्षेत्रबाट सर्वाधिक मतका साथ विजयी भएका निवर्तमान सांसद हुन् ।

यस्तै, डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगमा काम गरिसकेका र आजै कांग्रेस परित्याग गरेर रास्वपा आएका नेता हुन् भने रमेश खरेल पूर्वडीआईजीपी हुन् । सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित