३० आश्विन २०८३, शुक्रबार

जनगणनाबारे भ्रम नफैलाउन तथ्याङ्क कार्यालयको अनुरोध

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएसँगै धर्मको बारेमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति राष्ट्रिय तथ्याङ्क कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

सो कार्यालयले आज विज्ञप्ति जारी गरी धर्म सम्बन्धमा विसं २०७८ को जनगणनाअनुसार विभिन्न धर्मको विवरण भनी केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका समाचार पूर्णरुपमा गलत, भ्रामक तथा अन्योल सिर्जना गर्ने खालका भएको र त्यस्तो भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । जातजाति, भाषा र धर्मसम्बन्धी विवरणलाई अन्तिम रुप दिने कार्य भइरहेको र चाँडै तथ्य विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।

‘कार्यालयमा जातजाति, भाषा र धर्म सम्बन्धमा सरोकारवाला व्यक्ति तथा संस्थाबाट करिब ७० माग/ध्यानाकर्षण पत्र दर्ता भएको छ, प्राप्त माग/ध्यानाकर्षण पत्रको सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्था, विज्ञ तथा संवैधानिक आयोगका प्रतिनिधिको संलग्नतामा छलफल भइरहेको छ, साथै जातजातिसँग सम्बन्धित संवैधानिक आयोग तथा भाषा आयोगसँग प्रत्यक्ष छलफल गरी सुझाव लिने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यही चैत्र १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।