शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गठबन्धनको बैठक छाडेर चितवन लागे प्रधानमन्त्री प्रचण्ड

दैनिक नेपाल २०७९ चैत १६ गते १०:१२

काठमाडौं, १६ चैत । मन्त्रिपरिषद् विस्तारको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जाने भएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठक दिउँसो २ बजे पुनः बस्ने गरी स्थगित भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने उनको सचिवालयले जनाएको छ ।

चितवनबाट फर्के पछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी छ । कुन मन्त्रालय कस्ले लिने विषय टुंग्याउन बैठक बसेको थियो । कुन दलले कति मन्त्रालय लिने विषय भने बुधबार नै टुंगिएको थियो ।

मन्त्रालय भागबन्डाको सहमति अनुसार कांग्रेसले अर्थसहित ८ मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ ।

यसैगरी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई दुई–दुई मन्त्रालय र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक–एक मन्त्रालय दिइने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तार गरेर नयाँ मन्त्रीहरुलाई शपथ गराउने तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित