३० कार्तिक २०८३, सोमबार

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितसँग सरकारले आज वार्ता गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितसँग सरकारले आज बुधबार वार्ता गर्दैछ ।

वार्ताका लागि सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिलाई मंगलबार नै पीडितसँग वार्ता गर्न भनिएको थियो । तर, तयारी नपुगेको भन्दै मंगलबार वार्ता हुने सकेको थिएन ।

सरकारले मंगलबार दिउँसो वार्ता समिति गठन गरेको थियो । पीडित पक्षकोतर्फबाट भने वार्ता समिति गठन भइसकेको छैन । पीडित पक्षबाट आन्दोलनमा सहभागि सुर्जन तिवारीले वार्ता समिमि गठन भइनसकेको बताए । उनले भने,‘सरकारले वार्ता टोली गठन गरेको छ । सरकारी टोलीसँग हामी आजै वार्तामा बस्छौं । हाम्रो तर्फबाट वार्ता टोली गठन भइसकेको छैन । हामी तयारीमा छौं । बैठकपछि आजै निर्णय हुनेछ ।’

सरकारले मंगलबार नै मिटरब्याजलाई फौजदारी अपराध घोषणा गरी मुलुकी अपराध संहिता ०७४ संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार पीडित प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुले बालुवाटारमा एक घण्टा धर्ना दिएका थिए । त्यसपछि माइतीघर मण्डला आएका उनीहरु नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । चौतर्फी दबावमा रहेको सरकारले मंगलवार साँझ मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएको थियो । सोही बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

१३ दिनदेखि पैदल हिँडेर उनीहरु सोमबार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरु खुलामञ्चबाट विरोध कार्यक्रम गर्न चाहन्थे । तर, काठमाडौं महानगरपालिकाले अवरोध गरेपछि सोमबार रातभर उनीहरु खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसे । गत २ चैतमा उनीहरु महोत्तरीबाट पैदल हिँडेका थिए । ७३ जनाको समुहमा आएका उनीहरु हेटौंडा–भीमफेदी हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरुसँग सुत्केरी महिलादेखि वृद्धवृद्धा समेत सहभागि छन् ।