
काठमाडौं, १३ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज पनि देशका विभिन्न ठाउँमा कार्यक्रमहरू भएका छन् ।
पार्टीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरूलगायत केन्द्रीय नेताहरू नै सहभागी भएर विभिन्न स्थानमा कार्यक्रमहरू भएका छन् । कार्यक्रममा उनीहरूले प्रधानमन्त्री प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर विदेशीको गुलामीमा लागेको बताएका छन् ।
पाल्पा
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताउनुभएको छ । पाल्पामा आज आयोजित मिसन ग्रासरुट अभियानअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री भएर धेरै काम गरिसकेको चर्चा गर्दै उहाँले फेरि पनि प्रधानमन्त्री बन्ने चाहना नभएको बताउनुभएको हो ।

आफू प्रधानमन्त्री बने पनि नबने पनि देश जोगिनपर्ने र देशको रक्षा हुनुपर्ने उहाँको भनाइ छ । यस्तै, उहाँले दश दलीय गठबन्धनले देशको भूमि मिचिने क्रम पुन: सुरू भए पनि देशका बारेमा केही बोल्न नसकेको बताउँदै गठबन्धनको सम्पूर्ण शक्ति एमालेविरुद्ध परिचालन भइरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा कायम रहेको देशको सीमाना अहिले खुम्चिन थालेको उहाँको भनाइ छ ।
तत्कालीन नेकपा कब्जा गरेर आफूलाई एक्ल्याउने प्रचण्ड–माधवको योजना रहेको र योजना असफल भएपछि पार्टी फुटाएको ओलीले बताउनुभएको छ । पार्टी फुटाएपछि उहाँहरू आफैं किनारमा पुगेको र विदेशीको गुलाम बन्नुभएको उहाँको धारणा छ ।
रौतहट
मिसन ग्रासरुट अभियानअन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता, पार्टी सचिव एवम् मधेश प्रदेश इञ्चार्ज रघुवीर महासेठको विशेष आतिथ्यता र जिल्ला कमिटीका संयोजक सचितान्नद साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब प्रसाद रेग्मी, मधेश प्रदेश उपसचिव आरती भण्डारी, प्रभावशाली नेता अजय गुप्ता, मधेश प्रदेशका महिला तथा बालबालिकामन्त्री जैद राजा, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय थारुलगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सक्छौँ भन्ने प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै निर्वाचनमार्फत जनताले उहाँहरूको पार्टीलाई नै भित्तामा पुर्याइदिएको बताउनुभयो ।
जनताको माया र स्नेहले नै नेकपा एमाले समानुपातिक मतमा पहिलो भएको र अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी योजनाबद्ध ढंगले काम गरिरहेको उहाँले बताउनुभयो । मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूको समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उहाँले प्रष्ट पार्नुभयो ।
यसैगरी सचिव रघुवीर महासेठले नेकपा एमाले सालको रुखजस्तो बलियो भएको बताउँदै अब मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गर्नुभयो । जनताको पार्टी भनेकै एमाले रहेको चर्चा गर्दै उहाँले एमालेको नीति, विचार, सिद्धान्त र जनजीवीकासँगको निकटताका कारण मधेशमा एमाले पहिलो बन्न सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्यद्वय अच्युत मैनाली र पुरुषोत्तम पौडेलले मिसन ग्रासरुटको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
मुगु
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताउनुभएको छ । आज नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाउनुभएको हो ।

मिसन ग्रासरुट अभियानअन्तर्गतका कार्यक्रममा सहभागी हुन मुगु पुग्नुभएका उहाँले गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहनुभएका प्रचण्डले एमालेलाई धोका दिएको बताउनुभयो ।

तत्कालीन सत्ता साझेदार सात दलहरूबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्याउनुभयो । गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोके बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उहाँको भनाइ छ ।
काठमाडौं
नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मिसन ग्रासउरूट अभियानको मध्यावधि समिक्षा बैठक आयोजना गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यता र सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतको अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको हो ।

बैठकमा केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका केन्द्रीय सदस्य चुडादेव सिंह पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा सम्पर्क समन्वय कमिटीकातर्फबाट केन्द्रीय प्रतिनिधिका रूपमा प्रदेश सम्पर्क कमिटीमा खटिनु भएका नेताहरूले हालसम्म भएका गतिबिधिहरूको बारेमा मौखिक तथा लिखित प्रतिवेदन पेस गर्नुभएको थियो ।
स्थायी कमिटी सदस्य पण्डितले अहिलेसम्म भएका काम सन्तोषजनक नै रहेको र अझ तीब्र ढंगले कामलाई अगाडि बढाउन निर्देशन दिनुभयो ।
नवलपुर
नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकाका सबै ६ वटै वडामा वडास्तरका कार्यक्रमहरू सम्पन्न भएका छन् । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेले प्रमुख आतिथ्यतामा वडास्तरका कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय सदस्य घलेलाई बुलिङटार, गैंडाकोट र देवचुली नगरपालिकामा केन्द्रीय प्रतिनिधिको जिम्मेवारी तोकिएको छ ।

नवलपुरमा वडास्तरको अभियान सम्पन्न गर्ने बुलिङटार गाउँपालिका पहिलो भएको एमालेका युवा नेता एवम् जिल्ला कमिटीबाट प्रतिनिधिका रूपमा खटिनुभएका विद्रोही गिरीले जानकारी दिनुभयो ।
अब टोल कमिटीहरूको बैठक, जनवर्गीय संगठनको बैठक तथा भेलाका कामहरू हुने उहाँले बताउनुभयो । टोल स्तरका बैठक र भेलाले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदानका सिफारिस गर्ने काम चैत्र २० गते भित्र सक्ने र २४ गते पालिकास्तरमा अभियानको समिक्षा गर्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो ।
चितवन
मिसन ग्रासरूट अन्तर्गत चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ को विस्तारीत बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यता र बन्धुराज चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रदेश कमिटी सदस्य कृष्ण भक्त पोख्रेल, मुकुन्द दहाल, जिल्ला कमिटी उपसचिव चन्द्रकान्त न्यौपाने लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिका वडा नम्बर ५ को वडा भेला गुन्सामा सम्पन्न भएको छ ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य माधव ढुंगेलको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष ङेमाग्याल्वो गोलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रतिनिधि हस्त पण्डित पनि सहभागी हुनुहुन्थ्यो ।
म्याग्दी
म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न वडामा मिसन ग्रासरूट अभियान सम्पन्न भएको छ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियान गूर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा वडा कमिटीको वैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमाले म्याग्दीले जनाएको छ । अभियानको क्रममा पार्टीको सदस्यता नवीकरण, विस्तार, टोल तथा वस्तीस्तरमा पार्टीको अभियानसम्बन्धी योजना निर्माणका साथै स्थानीयको अपेक्षा र गुनासो सङ्कलन गरिएको छ ।

अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले स्थानीयस्तरबाटै पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि मिसन ग्रासरुट सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अभियानमार्फत पार्टी कामको साथसाथै स्थानीय जनताको चाहना र अपेक्षा समेत सङ्कलन गर्ने तथा विकास निर्माणको अवस्थाबारे जानकारी हासिल गरिएको बताउँदै मिसन ग्रासरुट अभियानबाट आउँदो निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दावी गर्नुभयो ।
अभियानलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देश अहिले पनि एमालेले ल्याएको नीति र कार्यक्रमलाई अनुशरण गर्दै अगाडि बढेकाले देशको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताउनुभयो । अभियानका क्रममा गूर्जाका स्थानीय नेताहरूसमक्ष गाउँमा मोटरबाटो ल्याइदिन माग गरेका छन् ।
ललितपुर
मिसन ग्रासरुट अभियानअन्तर्गत ललितपुरको महाङ्काल गाउँपालिका वडा नं.२ मानिखेलको तेश्रो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले श्रीकृष्ण चौलागाइको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

अधिवेशनमा नेताहरू बिषमलाल अधिकारी दनुवार, मधुसूदन पौडेल, चेतनाथ संजेल, मैना अछामी, रामचन्द्र दाहाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
रामेछाप
नेकपा एमालेको मिसन ग्रासरूट अभियानअन्तर्गत राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल वाग्मती प्रदेश समितिले तीन दिने वाग्मती सांस्कृतिक सम्मेलन मन्थलीमा आयोजना गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्ययता र राष्ट्रिय जनसांस्कृतिक महासंघ वाग्मती प्रदेश इञ्चार्ज आरसी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वाग्मती प्रदेशको आख्यान र निबन्धका विषयमा प्रा.डा. रामहरि लम्साल, कविता परम्परामा डा. हरिप्रसाद सिलवाल, मूर्तिकलाको अवस्थाकोबारेमा दीपेन्द्र बनेपाली र चित्रकलाको अवस्थाको बारेमा बालमुकुन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै वाग्मती प्रदेशको नाट्य तथा रङ्गमञ्च परम्पराकोबारेमा अशोक सिवाकोटी र साधुराम नेपालले, भाषिक स्थितिको विषयमा प्रा.डा जीवेन्द्रदेव गिरी र भैरवी भूगोलले, लोक साहित्यको विषयमा प्रा.डा. ध्रुव घिमिरेले, सांस्कृतिक सम्पदाको विषयमा डा. रमेश शुभेच्छुकले, गीत एवं सङ्गीत परम्पराको विषयमा नमुना शर्माले, चलचित्र परम्पराको विषयमा अनिल बुढाथोकी र केवल दवाडीले तथा नृत्यकला परम्परा र प्रवृत्तिकोबारेमा साजन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सोलुखुम्बु
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले मिसन ग्रासरुट मध्यावधी समिक्षा सम्पन्न गरेको छ । सल्लेरीमा सम्पन्न बैठक ८ वटै स्थानीय तहमा खटाइएका प्रतिनिधिहरूले रिपोर्टिङ गर्नुभएको थियो । रिपोर्टिङपश्चात पार्टीका अन्तर विरोधलाई हटाउँदै अर्को चुनावमा बहुमत ल्याउने गरी तयारी गर्ने बैठकले निर्णय गरेको छ ।
















प्रतिक्रिया