३० कार्तिक २०८३, सोमबार

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै साढे १३ करोड बढी ठगी गर्ने ३ जना पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आइतबार ललितपुरको धापाखेलबाट तीन जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका वडा नम्बर २३ घर भइ हाल महालक्ष्मी नगरपालिका-४ सितापाखा बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे नगरपालिका १० घर भइ हाल ललितपुर धापाखेल बस्ने ४९ वर्षीय केशव प्रसाद दुलाल र पाँचथर फिदिम-७ घर भइ हाल ललितपुर धापाखेल बस्ने ४५ वर्षीय टंककुमार गुरुङ रहेका छन् ।

उनीहरुले भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भन्दै विसं २०७७ देखि हालसम्म ८१ जना पीडितबाट करिब १३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

राठोरका अनुसार उनीहरुले आफूले चिनजानका व्यक्तिहरुमार्फत सम्पर्क गराई अमेरिका पठाइदिने बहानामा प्रतिव्यक्ति १५ देखि २० लाख उठाएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भन्दै अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिइ राखेको समेत अनुसन्धानबाट खुलेको प्रवक्ता राठोरले बताए ।

पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाडौं लगायत स्थानमा पटक पटक बोलाएर हैरानी दिएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई समेत दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पीडितमध्ये १० जनाभन्दा बढीका नाममा गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका सदस्यकोसमेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।