
काठमाडौं, १४ चैत । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज मंगलबार सत्तारूढ १० दलीय गठबन्धनको बैठक बस्दैछ ।
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । हिजो सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गरेका थिए । छलफलमा गठबन्धनको बैठक बसेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले सोमबारनै सभापति देउवा र अध्यक्ष नेपालसँगको छलफलपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए तर छलफलमा सहमति हुन नसकेपछि मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बोलाउनु परेको बताइएको छ ।
आज बस्ने गठबन्धनको बैठकमा कुन पार्टीलाई कति वटा र कुन–कुन मन्त्रालय दिने भन्ने छलफल हुने र मन्त्रालय भागबन्डाको टुंगो लाग्ने बताइएको छ ।
सत्तारूढ गठबन्धनको दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।
सत्तारूढ गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।












प्रतिक्रिया