
काठमाडौं, १२ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानमा पछिल्लो समय पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका पार्टी पदाधिकारीहरू समेत सक्रिय हुन थाल्नुभएको छ ।
यसैबीच आज अध्यक्ष ओली अर्घाखाँची, वरिष्ठ उपाध्यक्ष पोखरेल पर्सा, महासचिव पोखरेल काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । यस्तै, अन्य नेताहरू पनि विभिन्न्न कार्यक्रमहरूमा सहभागी हुनुभएको छ ।
अर्घाखाँची
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुननसक्ने बताउनुभएको हो । एमालेका नेता तथा कार्यकर्ता राम्रो बोलीवचनबाट छुट्टिनुपर्ने उहाँको भनाइ छ ।

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उहाँले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताउनुभयो । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले हरेक वडा, पालिका, प्रदेश र संघका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिनुभयो ।
एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसकिने बताउँदै उहाँले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, केन्द्रीय सदस्य चेतनारायण आर्चायलगायले प्रशिक्षण दिनुभएको थियो ।
पर्सा
मिसन ग्रासरूट अभियानअन्तर्गत पर्साको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव रघुवीर महासेठ साथै नेताहरू पुरूषोतम पौडेल, प्रभु हजारा, अच्युत मैनाली, निर्मला देवकोटा लगाएर नेताहरूले धारणा राख्नुभएको थियो ।

काठमाडौं/पर्वत
नेकपा एमाले पर्वत–काठमाडौं सम्पर्क मञ्चले प्रशिक्षण तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा मिसन ग्रासरुट’सम्बन्धी कार्यशाला शनिबार काठमाडौंमा सम्पन्न गरेको छ । पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता र सम्पर्क मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले देशको विकासका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताउँदै त्यसका लागि पार्टीलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो । २०५१ सालमा एमालेको सरकार बनेपछि विकास, सामाजिक न्याय र सुरक्षा जस्ता विषय राज्यबाट सम्बोधन हुन थालेको स्मरण गर्दै उहाँले देशमा एमाले नेतृत्वको सरकार गठन भए मात्रै विकासको कामले गति लिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विगतमा एमालेको देश र जनताप्रतिको इमानदार भूमिकाले गर्दा पहिलो र दोस्रो शान्तिपूर्ण जनआन्दोलन सफल भएको, एमालेको विशेष पहलमा २०७२ सालमा संविधान जारी हुन सकेको, संविधान जारी गरेवापत व्यहोर्नुपरेको भारतीय नाकाबन्दीलाई एमालेले मात्र डटेर सामना र प्रतिकार गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा समृद्ध नेपाल सुखी नेपालीको यात्रामा मिसन ग्रासरुट विषयमा ग्रामीण विकास विज्ञ डा. योगेन्द्र रिजालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सेवा निवृत्त सहसचिव देवेन्द्र लामिछाने र प्राडा प्रेम शर्माले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी, सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारी र मिसन ग्रासरुटका प्रतिनिधिहरू, सम्पर्क समन्वय कमिटीका सदस्यहरू, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।
गण्डकी प्रदेश
नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रिय युवा संघ नेपालल अभियन्ताका रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ । मिसन ग्रासरुट अभियानअन्तर्गत राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको विस्तारित भेलामा उहाँले समाजवाद पार्टीको मुख्य लक्ष्य रहेकाले त्यो ठाउँमा पुग्न राष्ट्रिय पुँजीको विकाश गर्नुपर्ने र त्यस कामको अगुवाई युवासंघले गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

समग्र युवाहरुलाई व्यावसायिक र उद्यमी बनाउन युवासंघ योजनाबद्ध रुपमा लाग्नु पर्ने बताउँदै सचिव अर्यालले विगतमा युवासंघले गरेका कामको प्रसंशा गर्नुभयो । भेलामा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटव्युरो सदस्य महेश बस्नेत र नेता राजीव पहारीलगायतको आतिथ्यता थियो ।
सुर्खेत
नेकपा एमालेका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले मिसन ग्रासरूट अभियान पार्टीको आधारभूत तहसम्म पुग्ने हुनाले अभियानले पार्टीको सांगठनिक कामलाई थप व्यवस्थित बनाउने बताउनु भएको छ ।

मिसन ग्रासरूट अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा खटिनुभएका पार्टीका नेताहरूलाई निर्देशन दिँदै कँडेलले अभियानमा खटिनुभएका अभियानकर्ता लाई संगठीत सदस्यको घरदैलोसम्म पुग्न निर्देशनसमेत दिनु भयो । ग्रासरूट अभियानले तल्लो तहसम्म उत्साह थपेको र पार्टीको सांगठनिक र राजनीतिक जीवनमा यसले महत्वपूर्ण योगदान पुर्याउने उहाँको धारणा छ ।
तेह्रथुम
मिसन ग्रासरुट अभियानअन्तर्गत तेह्रथुमको छथर गाउँपालिकामा अस्पताल परिसरमा सरसफाई, वृक्षरोपण, गमला हस्तान्तरण साथै ६ वटै वडामा श्रम शिविर सञ्चालन भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यतामा रचनात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य यज्ञराज सुनुवार पनि सहभागी हुनुहुन्थ्यो ।
दैलेख
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेलले मिसन ग्रासरुट अभियानअन्तर्गत दैलेखमा भएका गतिविधिहरूको अनुगमन गर्नुभएको छ । उक्त अवसरमा उहाँले एमालेलाई बलियो शक्तिको रूपमा स्थापित गर्न ग्रासरुट प्रभावकारी रहेको बताउनुभएको छ ।

मिसनग्रास रुट अभियानअन्तर्गत दैलेखमा पार्टी सदस्यता वितरण थालिएको छ । दैलेखका ११ वटै पालिकामा खटिनुभएका नेताहरूले प्रशिक्षण अभियान सकेलगत्तै सदस्यता वितरण अभियान सुरु गरिएको हो । दैलेखमा केन्द्रीय प्रतिनिधिको रूपमा खटिनुभएका मीनबहादुर शाहीले दुल्लु नगरपालिका वडा नं. ९ मा पुगेर पार्टी सदस्यता वितरण अभियान सुरु गर्नुभएको हो ।
दैलेखका २७० वटा टोलमा पुगेर नेता तथा कार्यकर्ताहरूले एमालेले लिएका समृद्धिको लक्ष्यकाबारेमा छलफल र बहस गर्दै पार्टीभित्र देखिएका समस्याहरूको समाधानका लागि विभिन्न छलफलहरू सम्पन्न गरेको केन्द्रीय सदस्य खगेन्द्र बिकले जानकारी दिनुभयो ।
रोल्पा
रोल्पाको परिवर्तन गाउँपालिकामा मिसन ग्रासरूट अभियानअन्तर्गत पालिकास्तरीय मध्यावधि समिक्षा बैठक पुलचौरमा सम्पन्न भएको छ । पोलिट्ब्यूरो सदस्य खेममान खड्काको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष प्रदीप डाँगीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रदेश कमिटी सदस्य प्रेम घर्ती मगर, जिल्ला कमिटी सदस्यहरू टेकेन्द्र रोका, नारायण खनाल, सपना रोका, तिल बहादुर पुन लगायत नेताहरू पनि सहभागी हुनुहन्थ्यो ।

समिक्षाका क्रममा पहिलो चरणको अभियान गाउँदेखि टोलसम्म प्रभावकारी रूपमा सम्पन्न भएको, पार्टी पंक्तिलाई उत्साहित बनाएको, अधिकांश नेता तथा कार्यकर्ताहरू परिचालित हुनु भएको बैठकले ठहर गरेको छ । आगामी कार्य योजनाअन्तर्गत सदस्यता नवीकरण तथा बितरण अभियानलाई चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने, पालिकादेखि वडा तहमा जनसंगठनहरू निर्माण गर्ने निर्णय भएको छ ।
कास्की
मिसन ग्रासरुटअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाहरूमा विस्तारित बैठक, कार्यकर्ता भेला, प्रशिक्षण, अन्तरक्रिया, रक्तदान र सम्मानलगायत रचनात्मक गतिविधिहरू सम्पन्न गरिएका छन् । महानगर कार्यक्षेत्र तोकिनुभएका पार्टी केन्द्रीय सदस्य तथा लमजुङका इञ्चार्ज मायानाथ अधिकारीलगायत विभिन्न तहका नेताहरूको आतिथ्यतामा कार्यक्रमहरू सम्पन्न गरिएका हुन् ।

यसअन्तर्गत आज महानगरको वडा नं. २८ स्थित बिमिरापानी कालिकामा टोल भेला सम्पन्न भएको छ । अन्तर्क्रियात्मक रूपमा सञ्चालित भेलाबाट अभियानका लागि विभिन्न कार्ययोजनाहरू निर्माण गरिनाका साथै पार्टीका नेताहरूबाट प्रशिक्षण गराइएको छ ।
यसअघि हिजो महानगरपालिकाको वडा नं. ५, ७, १३, १५, १९, २५, २८ र २९ मा विस्तारित बैठक, कार्यकर्ता भेला, प्रशिक्षण र अन्तरक्रियात्मक कार्यक्रमहरू सम्पन्न भएको केन्द्रीय सदस्य तथा पोखरा महानगरका लागि केन्द्रीय प्रतिनिधि तोकिनुभएका मायानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. ७, १९ र २८ मा रक्तदान, ज्येष्ठ कम्युनिष्ट सम्मान र पार्टीका पूर्वप्रमुखहरूको सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

जस अनुसार वडा नं. १९ मा आयोजित रक्तदानबाट ४० पिन्ट रगत संकलन गरिएको छ । यस्तै वडा नंं ७ मा ९० जना अग्रज कम्युनिष्ट र वडा नं. १३ मा पार्टीका पूर्वप्रमुखहरू बसन्त बराल, हरि बराल, बसन्त शर्मा अधिकारी, दिपक तामाङ, नारायण बराल, लोकबहादुर कार्की, हरि आचार्य, सूर्यनाथ बराल र विष्णु बराललाई सम्मान गरिएको छ । यससँगै पोखरा महानगरपालिकामा मिसन ग्रासरुट अभियान टोलकेन्द्रित हुन थालेको छ । यसैगरी वडा नं. ५ मालेपाटनमा पहिलो वडा प्रतिनिधि परिषद् गठन गरिनाका साथै समसामयिक राजनीतिक प्रतिवेदन पारित पारित गरिएको छ ।
जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीको कयॉरकोटमा वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् अभियानका लागि केन्द्रीय प्रतिनिधि बिष्णु रिजालको प्रमुख आतिथ्यता र वडाका जेष्ठ पार्टी सदस्य हर्कबहादुर रावतको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलामा जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य शान्ता शाही, प्रदेश प्रतिनिधि नारायणी चौलागाईं, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाही, वडाध्यक्ष तिलकबहादुर रावत, गाउँ कमिटी सचिव राजु रावतलगायतले सम्बोधन गर्नुभएको थियो ।

भेलाले दीपक रावतको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको छ । साथै, सपना रावतको अध्यक्षतामा २५ सदस्यीय, गणेश रावतको अध्यक्षतामा २५ सदस्यीय युवा संघ र शेरबहादुर रावतको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल किसान महासंघ वडा कमिटी गठन गरिएको छ । भेलाले सदस्यता नवीकरण र विस्तारको सुरुआत गर्दै त्यसलाई अभियानका रूप अघि बढाउन जिम्मेवारी बाँडफाँटसमेत गरेको छ ।
रामेछाप
मिसन ग्रासरुट अन्तर्गत रामेछापका विभिन्न पालिकाहरूका वडामा भेला तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् ।
अभियान अन्तर्गत मन्थली नगरपालिका–१ मन्थलीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमको प्रमुख अतिथ्यता, जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठको विशेष आतिथ्ययता र वडा कमिटीका अध्यक्ष गजेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भेलाले वडा कमिटीको जिम्मेवारी हेरफेर गर्दै उपाध्यक्ष र उपसचिवको जिम्मेवारी तीर्थ सुवेदी र रामकुमार माझीलाई दिएको छ ।

यसैगरी, गोकुलगंगा गाउँपालिका–२ ठोसे, दोरम्बा शैलुङ गाउँपालिका–५ गुन्साल, रामेछाप नगरपालिका वडा नं २ मा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । भेलामा क्रमश: पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, कपिलदेव पोखरेल र बाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा सम्बन्धित वडा कमिटीका अध्यक्षहरूको अध्यक्षता रहेको थियो । भेलामा नेताहरूले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बाँके
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ को वडास्तरीय भेला एवं प्रशिक्षण कार्यक्रम शम्शेरगंजमा सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष शालिकराम डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा लगायत नेताहरूले विभिन्न सामयिक विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कालिकोट
मिसन ग्रासरुट अभियान पार्टीका सेल स्तरसम्मका संगठनको सर्भिसिङ्ग गर्ने अभियान भएको केन्द्रीय सदस्य निरज आचार्यले बताउनुभएको छ । अभियानअन्तर्गत कालीकोटको पलाँता गाउँपालिकाका नेता कार्यकर्तासँग छलफल गर्दै पार्टी केन्द्रीय निर्वाचन विभाग उपप्रमुखसमेत रहनुभएका नेता आचार्यले पार्टी भित्रका सबै (केन्द्रदेखि सेल स्तरका) तहका कमिटीहरूको स्पीडअप गर्नका लागि पार्टीले ग्रासरुट अभियान सञ्चालन गरेको बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा एमाले जत्तिको कुनै शक्तिको कल्पना गर्न नसकिने उल्लेख गर्नुहुँदै आचार्यले देशभर एकैदिन वडा र पालिका अधिवेशन सम्पन्न गरेर सांगठनीक जीवनलाई पुर्नताजगी गरेको र संगठनलाई अझै धारिलो बनाउन बाँकी रहेकाले अभियान सञ्चालन गर्नु परेको उल्लेख गर्नुभयो । पलाँता र पचालझरना गाउँपालिकाका अगुवा नेताहरूको उपस्थित रहेको बैठकलाई संवोधन गर्दै अर्का केन्द्रीय सदस्य दल रावलले नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा छाटो आयू गरेको पार्टी माओवादी भएकाले त्यसको क्षणिक भ्रममा नपर्न कालिकोटवासीलाई आग्रह गुर्नभयो ।
नितान्त व्यक्तिगत स्वार्थ र अपरिपक्व योजनाका आधारमा माओवादी नेतृत्व चलेकाले देशमा कम्युनिस्ट पार्टीहरूबीच एकता टिक्न नसकेको उल्लेख गरेको नेता रावलले अबका हरेक निर्वाचनमा एमाले एक्लै पहिलो शक्ति बन्नेमा कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
लमजुङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मुक्ति समाज जिल्ला सम्मेलन आयोजक कमिटी लमजुङको बैठक बेसीशहरमा सम्पन्न भएको छ । मुक्ति समाजकी केन्द्रीय सदस्य विमला हिमालीको प्रमुख आतिथ्यता र मुक्ति समाज जिल्ला कमिटीका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले हालसम्म सञ्चालित क्रियाकलाप र गतिविधिको समीक्षा गर्दै अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै अघि बढाउने निर्णय गरेको छ । यस्तै आगामी वैशाख १५ गते सातौं जिल्ला अधिवेशन गर्ने, चैत २४ गते विस्तारित एवम् तयारी बैठक बस्ने, नयाँवर्ष विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्ने र जिल्ला अधिवेशनको तयारी जस्ता सवालमा काम गर्ने निर्णय बैठकले गरेको छ ।















प्रतिक्रिया