
काठमाडौं, ११ चैत । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक अधिकारको पक्षमा बोल्ने र विचारलाई तरङ्गित गर्ने पहिलो कम्युनिष्ट पार्टी नेकपा एमाले भएको बताएका छन् ।
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज प्रेस चौतारी नेपाल कागमती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशले भक्तपुरमा आयोजना गरेको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम (संगठन सुदृढीकरण कार्यशाला एवम् बैठक) लाई सम्बोधन गर्दै उनले एमालेले बोकेको विचार र दृष्टिकोणका कारण कारण मुलुकमा कम्युनिष्ट आन्दोलन फस्टाइरहेको बताए ।
संसारभरिका कम्युनष्टिहरू सङ्कटमा परेर लखेटिइरहेको अवस्थामा नेपालमा कम्युनिष्टले नै सरकार बनाउनु ठूलो उपलब्धि भएको चर्चा गर्दै उनले भने, ‘रुसमा कम्युनिष्टको भागाभाग थियो, युरोपमा कम्युनिष्टको भागाभाग थियो, संसारभरका कम्युनिष्टहरू सिद्धान्त र विचार नै छोडेर हिड्नुपरेको अवस्था थियो । कतिलाई जेलको चिसो हावा खुवाइएको थियो भने कतिलाई कठघरामा उभ्याइएको थियो । तर, नेपालमा विजयको झण्डा फहराएको फहरायै छ । अझ सरकार नै बनाएर सासन गर्यो त्यसै बेला ।’
नेपालमा एमालेले माक्र्सको रुढीवादी विचार र सिद्धान्तलाई छोडेर सृजनात्मक कुरालाई अनुशरण गर्दा तत्कालीन समयमा कम्युनिष्टले निर्वाचन जित्नेमात्र नभइ सरकार नै बनाउन सक्ने उपलब्धि हासिल भएको उपमहासचिव गुरुङको भनाइ छ ।
‘२०४७/०४८ सालतिर सरकार बनाएको ‘माओवाद’ वा हामीले भन्दै आएको ‘नौलो जनवाद’का कारण होइन,’ गुरुङले भने, ‘त्यो भनेको कम्युनिष्ट पार्टीको रुढीवादी परम्परालाई छोडेर नेपालको परिस्थिति अनुसार माक्र्सको सृजनात्मक कुरालाई अनुशरण गरेर जनताको बहुदलीय जनवादी क्रान्ति गर्ने भन्यौँ । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई स्वीकार गर्ने भन्यौँ । नागरिकको अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । मौलिक अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । यसरी बोल्ने पहिलो कम्युुनष्टि पार्टी नेकपा एमाले हो । यो कुराले विचारको क्षेत्रमा ठूलो कम्पन सृजना गर्यो र त्यतिबेलै वा भनौँ छोटै समयमा त्यो उपलब्धि हासिल गर्यौँ ।’
त्यसकारण जनताको बहुदलीय जनवाद (जबज)लाई जनताको बीचमा लैजानुपर्ने र त्यसको मर्मबारे जनतालाई मसिनोगरी बुझाउनुपर्ने आवश्यकता अझै रहेको उनको भनाइ छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङले संगठन बलियो भयो भने जहाँ–जहाँ प्रभाव पर्नुपर्ने हो त्यहाँ नेतृत्व लिन सकिने चर्चा गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले संगठनको शक्तिमा विश्वास गर्नुपर्नेमा जोड दिए । संगठनको शक्तिको मुख्य स्रोत भनेको विचार भएको बताउँदै कस्तो विचार र त्यसको उद्देश्य के हो भनेर आफू स्पष्ट हुँदै अरुलाई पनि स्पष्ट पार्नुपर्ने विचार व्यक्त गरे ।















प्रतिक्रिया