
झापा, १० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम सबैको साझा हुनेगरी ‘कोसी’ राखेकामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धन्यवाद दिएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको मध्यावधि समीक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबैले आफ्नो–आफ्नो नाममा प्रदेश मागिरहेका बेला साझा नाममा सहमति जुटाएकामा मुख्यमन्त्री कार्कीलाई धन्यवाद दिएका हुन् ।
‘कोसी प्रदेश सभा र त्यसका सदस्यहरूलाई धन्यवाद भन्न चाहान्छु, यस कार्यकालमा विशेष पहल गरेर यसलाई उपयुक्त निर्णय गरेर ‘कोसी प्रदेश’को निर्णयमा पुर्याउन पहल गर्नुभएकामा मुख्यमन्त्रीजीलाई पनि धन्यवाद भन्न चाहान्छु,’ ओलीले भने, ‘उहाँले यसलाई ठीक ठाउँमा ल्याइपुर्याउनुभयो । धन्यववाद यस कारण पनि छ तपाइँलाई कि यो प्रदेशको नाम ‘कार्की प्रदेश’ राख्नुभएन ।’
कोसी सबैको साझा भएकाले प्रदेशको नामाकरणमा कसैले अपमानबोध गर्नपर्ने अवस्था नरहेको ओलीको भनाइ छ । ‘सबैले आफ्नो–आफ्नो नाममा राज्य मागिरहेका बेला मुख्यमन्त्री कार्कीले पनि आँटेर आफ्नै थरमा प्रस्तावचाहिँ राख्नुभएको भए के हुन्थ्यो के हुन्थ्यो नि ! राख्नुभएन धन्यवाद छ । कोसी प्रदेश राख्नुभयो, सबैको साझा नाम राख्नुभयो,’ ओलीले भने ।
पृथ्वीमा रहेका सबै मानिसको साझा पहिचान धर्तीपुत्र भएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, ‘मानिस जहाँ पुगे पनि धर्तीपुत्र हो । आकाशपुत्र त कोही पनि छैन, धर्तीपुत्र नै हो । पुत्र भन्दाखेरि यहाँ मैले जेण्डरको कुरा गरेको छैन । महिला वा पुषलाई नै धर्तीपुत्र भन्न खोजिएको हो । हामी सबै यस धर्तीका सन्तान हौँ र कोसी कुनै जातविशेषको होइन । कोसी सबैको हो ।’
कोसीले सबैका लागि समान व्यवहार गर्ने र सभ्यता सृजनाको जननी समेत भएको बताउँदै उनले अगाडि भनेका छन्, ‘कोसीले एउटा सभ्यता सृजना गरेको छ । यस प्रदेशमा अनेक भाषाहरू र भाषिकाहरू सृजना गरेको छ, अनेक जातीहरू सृजना गरेको छ । अनेक बाजागाजहरू, गीतहरू, नृत्यहरू सृजना गरेको छ । यहाँ देवी–देवता र देवी–देवताका बीचमा अनेक थरीका सृजनाहरू गरेको छ ।’
ओलीले केही पुराना इतिहासको प्रसङ्ग कोट्याएर प्रदेश नं. १ को नाम कोसी प्रदेश राखिनु सबैका लागि उचित रहेको धारणा व्यक्त गरेका छन् । ‘यस धर्तीको अन्त कहीँ नभएको सगुनी (भूतप्रेत पनि होइन, देवीदेवता पनि होइन) यस प्रदेशमा छ । वर्षमा कमसेकम एकपटक सगुनी पन्छाउनुपर्छ । त्यो मात्र होइन, मकै पाक्यो भने पहिला सगुनीलाई चढाउनुपर्ने, सेलरोटी पकायो भने, खीर पकायो भने पहिला सगुनीलाई चढाउनुपर्ने प्रचलन केही अघिसम्म थियो । अथवा यहाँ यस्ता अनेक संस्कृतिहरू पनि छन् ।’
धर्तीपुत्र र कोसीको लामो इतिहासबारे चर्चा गर्दै उनले भने, ‘अहिले हामी १०० वर्ष यताका मात्रै इतिहास थाहा पाउने छौँ । यसैमा मात्र विश्लेषण गरेर इतिहासलाई कम मूल्याङ्कन गर्नु राम्रो हुँदैन । जुन नदीको पानी हाम्रो नसा–नसामा बगेको छ, त्यस नदीप्रति यस प्रदेशका मानिसहरू कृतज्ञ हुनुपर्दछ । हाम्रा जीवन कहाँबाट चलेको छ ? हामी त्यही कोसीको पानीले सिञ्चित बनेर बढेको विरुवाबाट आएको अक्सिजनबाट स्वास फेर्दछौँ । कोसीको पानी गंगामा जान्छ । गंगा कति पवित्र छ ?’















प्रतिक्रिया