
काठमाडौं, ९ चैत । दि गोर्खा इन्जिनीयरिङ एण्ड सर्भिसेज इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न भएको लामो समयसम्म भुक्तानी नपाएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष बसन्तबहादुर भुजेलले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले २०५२ सालमा सम्झौता भएको लमजुङको डुम्र–वेशीशहर सडक तथा पुल निर्माणको भुक्तानी अहिलेसम्म नपाएको बताएका हुन् ।
सरकारले भुक्तानी नदिँदा धितो जमानीमा रहेको सम्पत्ति समेत बैंकले जफत गरेको उनको गुनासो छ । आफू राज्यबाट अन्यायमा परेको भुजेलको भनाइ छ ।
उनका अनुसार ठेक्का सम्झौता अनुसार काम सम्पन्न गरेबापत राज्यबाट ६८ करोड ८६ लाख ३८ हजार ६२ रुपैयाँ भुक्तानी पाउन बाँकी छ । लामो समयदेखि भुक्तानी नपाएर तनावमा रहेका भुजेलले आफूलाई राज्यले क्षतिपूर्तिसहित तत्काल रकम भुक्तानी नगरे कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।
कार्य सम्पादनको अन्तिम चरणमा पुगेको अवस्थामा एकतर्फी रूपमा ठेक्का सम्झौता तोडिएको कारण आफूले निकै ठूलो आर्थिक क्षति व्यहोरेको उनको भनाइ छ । सम्झौता भएबमोजिमको काम सम्पन्न गर्न तत्कालीन बैंक अफ काठमाण्डूबाट आफूले कर्जा लिएको र सरकारले लामो समयसम्म भुक्तानी नदिएको कारण कर्जा लिँदा बैंकमा राखेको धितोसमेत लिलाम भएको उनले बताएका छन् ।
‘सम्झौताबमोजिमको सडक र पुल निर्माणको कार्य सम्पन्न गर्न सम्पूर्ण आर्थिक लगानी जुटाई बैंक अफ काठमाडौंमार्फत कार्य प्रारम्भ गरिएको र अचल सम्पत्ति धितो जमानी सोही बैंकमै राखिएको जुन सम्पत्ति बैकद्वारा लिलामबिक्री गरिएको छ,’ उनले भावुक हुँदै भने ।
विनाकारण ठेक्का सम्झौता रद्द हुँदा सडक विभाग र कम्पनीको तर्फबाट विवाद समाधानका लागि ट्राइवुनल गठन गरी विवाद समाधानको प्रयास भएको उनले बताए । ट्राइवुनलको आदेशउपर आफू उच्च अदालत हुँदै सर्वोच्च पुगेको उनको भनाइ छ ।
सर्वोच्चले पनि दाबीबमोजिमको रकम पाउनुपर्नेमा कुनै विवाद नरहेको फैसला गरेको उनले सुनाए । निवेदकहरुको माग दाबी बमोजिमको रकम नेपाल सरकार निर्माण यातायात मन्त्रालय, सडक विभागले भुक्तानी गरी विवाद टुंग्याउनु उपयुक्त हुने फैसला सर्वोच्चले गरे पनि हालसम्म उक्त फैसला कार्यान्वयन हुन नसकेकोमा उनले दु:खेसो पोखे ।















प्रतिक्रिया