२ कार्तिक २०८३, सोमबार

टेलिफोन महसुल घटाउन मन्त्री शर्माको भारतलाई आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्।

भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्।

ुनेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्,’सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्, ‘दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता देख्छु।’

नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकामा ध्यानाकर्षण गराउँदै उनले त्यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्नेमा जोड दिइन्।

भारतीय टेलिभिजन च्यानल नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानल भने भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘भारतमा नेपालीभाषीको ठूलो संख्या रहेकाले नेपाली च्यानलको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्छु।’

उनले विशेषत: नेपाली च्यानल भारतमा डाउनलिंक गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश दिन आग्रह गरेको सञ्चार मन्त्रालयले जनाएको छ।

प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाल चलचित्र छायांकनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्नसक्ने विश्वास व्यक्त गरिन्।

नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र वर्तमान परिप्रेक्ष्यमा नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले त्यस्ता शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरिन्।

त्यसैगरी सूचना प्रविधि र साइबर सुरक्षा क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट सहभागिता हुने आग्रह गरिन्।