
काठमाडौं, ८ चैत । धेरैका लागि सामान्य कृषक अनि केहीका लागि नेता पत्नीकी रूपमा चिनिएकी बाराको कलैया उपमहानगरपालिका-५ की ५० वर्षीय चम्पादेवी यादवको परिचय गत सातादेखि एकाएक बदलिएको छ।
गाउँमा निस्फिक्री रहने चम्पादेवी सुरक्षा घेरामा हिँडिरहेकी मात्र छैनन् उनको आवासमा चैबीसै घण्टा सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।
एक साताअघिसम्म गोठमा गाईभैँसीसँग रमाइरहेकी उनलाई खासै कसैले खोजी गर्दैन थियो। तर अहिले उनलाई खोजी गर्ने र उनीसँग कुराकानी गर्न चाहनेको सङ्ख्या बढ्दो छ। कतिले भेटेरै कुरा गर्छन्, भिडिओ र तस्बिर खिच्छन् त कतिले फोनबाट पनि कुरा गर्न खोज्छन्। चम्पादेवी अरू कोही नभएर गत साता निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकी पत्नी हुन्।
उपराष्ट्रपतिका रूपमा रामसहायप्रसादको जति चर्चा भइरहेको छ, करिब करिब उस्तै चर्चाको केन्द्रमा छिन् उनकी पत्नी चम्पादेवी पनि।
उनले त्यस्तो चर्चा पाउनुको कारण हो उपराष्ट्रपतिपत्नी भए पनि सामान्य कृषककै रूपमा गाउँमै बस्ने उनको चाहना। उनी गाउँ छाडेर काठमाडौंमा आई उपराष्ट्रपति निवासमा बस्न चाहन्नन्।
“म त गाउँमै बस्छु। बेलाबेलामा यहाँ पनि आउँला,” उनले भनिन्। “श्रीमान् र छोराछोरी काठमाडौंमा भएकाले यहाँ ठिक त लाग्छ। तर घरबार, बस्तुभाउ सबै कुरा त गाउँमै छ नि! त्यो सबै छाडेर यहाँ बस्ने भन्ने त भएन।”
श्रीमान्को शपथग्रहणका लागि काठमाडौं आउँदा आउँदा छिमेकीलाई बस्तुभाउ हेरिदिनू भनेर आएकी उनी खेतीपाती र बस्तुभाउको हेरचाहका लागि गाउँमै फर्कने बताउँछिन्।
– बीबीसी नेपालीबाट















प्रतिक्रिया