
काठमाडौं, ७ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ ।
काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने/नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानललक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष बस्नेतले युट्युब च्यानल आफैँमा सूचना सम्प्रेषणका उपयुक्त माध्यम हुन्, युट्युबबाट भरपर्दो, विश्वसनीय र जिम्मेवारपूर्ण सूचना सम्प्रेषण हुनु जरुरी छ, युट्युब च्यानललाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन काउन्सिलले विशेष अभियान थालेको जानकारी दिए ।
बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, बार एसोसिएसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल र उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।
काउन्सिलले यसअघि नै युट्युबलगायत सामाजिक सञ्जालको नियमन तथा व्यवस्थापनका लागि सुझाव दिन कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनसहित सरकारलाई सुझावसमेत पेस गरिसकेको थियो ।











प्रतिक्रिया