शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मिसन ग्रासरुट अभियान : ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा एमालेले पूरा गर्छ

दैनिक नेपाल २०७९ चैत ६ गते २१:४८

काठमाडौं, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभिभारा एमाले शक्तिशाली बन्दा मात्रै पूरा गर्न सकिने नेताहरूले बताएका छन् ।

पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्ता अभियान ‘मिसन ग्रासरुटअन्तर्गत विभिन्न जिल्ला, पालिका र वडा तथा टोल–टोलमा भएका पार्टी गतिविधिमा सहभागी नेताहरूले एमालेलाई घेराबन्दी गरिँदा मुलुकको राष्ट्रियता कमजोर बन्नाका साथै विकासका काम ठप्प भएको उनीहरूले बताएका छन् ।

देशको विकासका लागि एमाले बहुमतसहित सरकारमा पुग्नुपर्ने धारणा उनीहरूको छ । सोही अनुसार जनताले मतदान गर्नुपर्नेमा उनीहरूको जोड छ ।

काठमाडौं

नेकपा (एमाले) ले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सुरु गरेको एकमहिना पूरा भएको छ । अध्यक्ष केपी शर्मा ओलीले गत २०७९ फागुन ५ गते शुभारम्भ गर्नुभएको दुई महिने यस अभियानमा पार्टीका केन्द्रीय नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू पालिका तहका नेताकार्यकर्ताका साथ स्थानीय तहमा पार्टी काममा खटिनुभएको छ ।

मिसन ग्रासरुटका लागि पार्टीले निर्धारण गरेका निश्चित कार्यहरू सम्पादन धमाधम भइरहेका र ति काम यही चैत २० गतेसम्म सकेर अभियानको समीक्षामा लाग्न पार्टी केन्द्रबाट निर्देशन जारी गरिएको छ । अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका उपत्यकामा रहनुभएका पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरूको उच्चस्तरीय बैठकले मिसन ग्रासरुटको संक्षिप्त समीक्षा गर्दै बाँकी अवधिका लागि कामको तालिका निर्धारण गरेको छ । सोही अनुसार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटमा खटिरहनुुभएका नेताहरूलाई कार्यसम्पादन गर्न अनुरोध गर्दै निर्देशन जारी गर्नुभएको छ ।

आमरूपमा अभियानअन्तर्गत गर्नुपर्ने आधारभूत काम चैत २० सम्म सम्पन्न गर्न र पालिका तहमा चैत २५ गतेसम्म कामको समीक्षा गर्न भनिएको छ । त्यसअघि सबै प्रदेशसँग प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अध्यक्षको सहभागिता रहने गरी पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल बैठक हुने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले वताउनुभयो ।

प्रदेश कमिटीलाई मिसन ग्रासरुटको समीक्षा प्रतिवेदन तयार गर्न दुई दिने तालिका प्रस्ताव गर्दै समीक्षा बैठकको प्रमुख आतिथ्यता अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका उपाध्यक्ष र व्यवस्थापनको संयोजन पार्टीका सचिवले गर्नुहुने भएको छ । अभियानमा खटिनुभएका सबै केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहने समीक्षा बैठकमा पार्टीका महासचिव र एकजना उपमहासचिवको उपस्थिति रहने भएको छ ।

लमजुङ

मिसन ग्रासरूट अभियान अन्तर्गत आज लमजुङमा जिल्लास्तरीय कार्यकर्ता भेला बेसीशहरमा सम्पन्न भएको छ । भेलालाई संबोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मिसन ग्रासरूट अभियानले पार्टीभित्र कतिपय कार्यकर्तामा देखिएको स्वार्थी चिन्तन र प्रवृतिलाई हटाउन मद्दत गर्ने बताउनुभयो ।

यसै गरी सचिव पदमा अर्यालले विचारको नेतृत्व एमालेले गर्ने बताउनुभयो । सामाजिक न्यायसहितको आर्थिक समृद्धि एमालेले गर्ने उहाँले बताउनुभयो । संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मिसन ग्रासरूट अभियान पार्टी पुनर्निर्माणको महाअभियान भएको बताउनुभयो । अभियानका बेलामा मात्रै पार्टी काम गर्ने बानीबाट समस्या सृजना भएकाले पार्टीलाई मिसन ग्रासरुट चाहिएको उहाँको भनाइ छ ।

भेलामा पोलिटब्युरो सदस्य टुकराज सिग्देल, लमजुङ इञ्चार्ज मायानाथ अधिकारी लगायतले अभिमुखीकरण गर्नुभएको थियो । जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको भेलामा लमजुङ सह– ईन्चार्ज टुका हमाल, केन्द्रीय सदस्य सम्झना देबकोटा, प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य लगायतको उपस्थिति थियो ।

नुवाकोट

नेकपा एमालेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत नुवाकोटमा अभियान सुरु भएको एक महिना पुगेको अवसरमा मध्यावधि समिक्षा गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा मध्यावधि समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा पोलिट्ब्यूरो सदस्य कृष्ण राई, बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे लगायत केन्द्रीय अभियान्ताहरू जिल्ला पदाधिकारी र १२ पालिका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

जुम्ला

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लामा भइरहेको कामकाबारेमा अनुगमन गर्न आउनुभएका इन्चार्ज कँडेलले सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा (एमाले) लाई घेराबन्दी गर्ने काम भएको बताउनुभयो ।

जनताको बलमार्फत् परिवर्तन गरेर अगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रूपमा रूपान्तरण गर्न हामी अहिलेदेखि नै लाग्नुपर्ने उहाँको धारणा छ । संगठन निर्माण जनताका जीविकाका प्रश्नहरूलाइ महत्वका साथ उठान गर्नुपर्ने उहाँले बताउनुभयो । बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो । बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउनेबारेमा कार्ययोजना बनाइएको छ ।

जुम्लामा भइरहेका कामकाबारेमा केन्द्रीय प्रतिनिधिहरू विष्णु रिजाल, नगेन्द्र शाही (नेशनल) र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी दिनुभएको थियो । अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न उहाँले निर्देशन दिनुभएको थियो ।

धादिङ

मिसन ग्रासरूट अभियानअन्तर्गत धादिङको निलकण्ठ नगरपालिकामा पनि मध्यावधि समिक्षा बैठक सम्पन्न भएको छ ।

केन्द्रिय प्रतिनिधीहरू कैलाश ढुङ्गेल, केशब स्थापित, विन्दा ढुङ्गाना, बावुराम थापा, रूपनारायण श्रेष्ठ, हरि सापकोटा, प्रदेश र जिल्ला कमिटी सदस्यहरूको उपस्थितिमा बैठक सम्पन्न भएको हो । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने ग्रासरूट अभियान आज एक महिना पुगेको छ ।

लमजुङ

मिसन ग्रासरूट अभियानअन्तर्गत लमजुङको दुधपोखरी गाउँपालिका वडा नं १ मा नेकपा एमाले वडाकमिटीको प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको छ ।

प्रदेश कमिटीका सचिवालय सदस्य सिंह बहादुर थापाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले गजबहादुर गुरूङको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठनसमेत गरेको छ ।

जुम्ला

नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अन्तर्गत आज जुम्लाको पातारासी गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरेड यामलाल कँडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय विष्णु रिजाल र नगेन्द्र शाही (नेशनल), प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महतले प्रशिक्षण दिनुभएको थियो ।

पालिका कमिटी अध्यक्ष विष्णुबहादुर बुढाको अध्यक्षता आयोजित कार्यक्रममा माओवादी र कांग्रेस छाडेर पार्टी प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि कँडेलले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित