शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अब एमालेको सम्पूर्ण ध्यान सङ्गठन निर्माण र जनजीविको पैरवीमा केन्द्रित हुनेछ : यामलाल कँडेल

दैनिक नेपाल २०७९ चैत ६ गते २१:०८

जुम्ला, ६ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले अब पार्टीको सम्पूर्ण ध्यान सङ्गठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आइपुगेका इञ्चार्ज कँडेलले आज सोमबार बिहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगरकमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेविरुद्ध भइरहेको घेराबन्दी जनताको बलमा तोड्नुपर्ने र त्यसका लागि पार्टीपंक्ति एकढिक्का भएर प्रस्तुत हुनुपर्ने बताए ।

‘नेकपा एमालेलाई घेराबन्दी गर्ने काम भएको छ । यसलाई जनताको बलमार्फत् परिवर्तन गरेर अगामी निर्वाचनबाट बहुमतप्राप्त दलका रूपमा रूपान्तरण गर्न हामी अहिलेदेखि नै लाग्नुपर्छ,’ कँडेलले भने, ‘आफ्नो खुट्टामा दृढतापूर्वक उभिन सक्यौँ भने मात्रै हामीले अरुका घेराबन्दीलाई चिर्न सक्छौँ । त्यसका लागि संगठन निर्माण जनताका जीविकाका प्रश्नहरूलाई हामीले महत्वका साथ उठान गर्नुपर्छ ।’

इञ्चार्ज कँडेलले आफूले जुम्लाको अवस्था हेर्दा नेकपा (एमाले) प्रति आकर्षण र विश्वास पर्याप्त मात्रामा रहेको पाए पनि होहल्ला गर्ने, मरेको राजतन्त्रलाई जिउँदो बनाउँछौँ भनेर यहाँका दुर्गम वस्तीमा भ्रम छर्नेहरूले चुनाव जितेको पाउँदा आश्चर्य लागेको बताए । पार्टीको समानुपातिक मत जति पनि आफ्नो उम्मेदवारलाई मत नआउने स्थितिको अन्त्य गर्नासाथ जुम्लामा एमालेले विजय हासिल गर्ने विश्लेषण उनले सुनाएका छन् ।

बैठकमा जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालको पनि उपस्थिति थियो ।

नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकायको अध्यक्षतामा बसेको बैठकमा हालसम्मको मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै नगरभित्र अझ प्रभावकारी बनाउने बारेमा कार्ययोजना बनाइएको छ ।

जुम्लामा अभियानका अनुगमनका लागि इञ्चार्ज कँडेल आइतबार जुम्ला आइपुगेका हुन् । आइतबार साँझ नै उनले जुम्ला जिल्लाभरको समग्र कामका बारेमा जुम्लामा खटिएका केन्द्रीय प्रतिनिधि र जिल्लाका पदाधिकारीहरूसँग बैठक बसी जानकारी लिएका थिए ।

जुम्लामा भइरहेका कामका बारेमा केन्द्रीय प्रतिनिधिहरू विष्णु रिजाल, नगेन्द्र शाही (नेशनल) र गेहेन्द्र दाहालका साथै जिल्ला अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरतबहादुर शाही र सचिव धनकृष्ण पाण्डेले जानकारी गराएका थिए । अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित