
काठमाडौं, ६ चैत । नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गतका कार्यक्रमहरू यही चैत २० गतेभित्र सक्न पार्टी केन्द्रले निर्देशन दिएको छ ।
अभियानको अनुगमनको जिम्मेवारीमा रहेका उपत्यकामा उपलब्ध पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरूको उच्चस्तरीय बैठकले ‘मिसन ग्रासरुट’का लागि निर्धारण गरिएका निश्चित कार्यहरू २० गतेसम्ममा सकेर अभियानको समीक्षामा लाग्न निर्देशन जारी गरेको हो ।
बैठकले मिसन ग्रासरुटको संक्षिप्त समीक्षा गर्दै बाँकी अवधिका लागि कामको तालिका समेत निर्धारण गरेको छ । सोही अनुसार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटमा खटिइरहेका नेताहरूलाई कार्यसम्पादन गर्न अनुरोध गर्दै निर्देशन जारी गरेका हन् ।
आमरूपमा अभियानअन्तर्गत गर्नुपर्ने आधारभूत काम चैत २० सम्म सम्पन्न गर्न र पालिका तहमा चैत २५ गतेसम्म कामको समीक्षा गर्न निर्देशन जारी भएको हो । त्यसअघि सबै प्रदेशसँग प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अध्यक्षको सहभागिता रहने गरी पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल बैठक हुने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

प्रदेश कमिटीलाई मिसन ग्रासरुटको समीक्षा प्रतिवेदन तयार गर्न दुई दिने तालिका प्रस्ताव गर्दै समीक्षा बैठकको प्रमुख आतिथ्यता अभियानको अनुगमनको जिम्मेवारीमा रहेका उपाध्यक्ष र व्यवस्थापनको संयोजन पार्टीका सचिवले गर्ने बताइएको छ ।
अभियानमा खटिएका सबै केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहने समीक्षा बैठकमा पार्टीका महासचिव र एक जना उपमहासचिवको उपस्थिति रहने भएको छ ।
प्रदेशमा समीक्षा बैठकका लागि पार्टी केन्द्रले प्रस्ताव गरे अनुसार, सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते, गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते, मधेस प्रदेशमा वैशाख १४ र १५ गते समीक्षा बैठक बस्ने छ । वैशाख ९ गते पार्टी स्थापना दिवस भएकाले सोही अनुसार पार्टी स्थापना दिवस कार्यक्रम आयोेजना गरिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते शुभारम्भ गरेको दुई महिने अभियानको हिजो चैत ५ गते एक महिना पूरा भएको छ । अभियानमा पार्टीका केन्द्रीय नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू पालिका तहका नेता तथा कार्यकर्ताका साथ स्थानीय तहमा पार्टी काममा खटिएका छन् ।















प्रतिक्रिया