शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘व्यक्ति हत्या, बेपत्ता र अङ्गभङ्ग गराउनेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुँदैन’

दैनिक नेपाल २०७९ चैत ६ गते १९:५९

काठमाडौं, ६ चैत । मानवअधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल)ले ‘व्यक्ति हत्या, बेपत्ता र अङ्गभङ्ग गराउनेलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने बताएको छ ।

संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०७९ विधेयकमा व्यक्ति हत्या, बेपत्ता, अङ्गभङ्ग गराउने जस्ता मानवअधिकारको उल्लंघनकर्ताहरूलाई उन्मुक्ति दिने प्रावधान राखिएकाले त्यसलाई तत्काल हटाउन एलाइन्सले माग गरेको छ ।

चैत ४ गते संसद सचिवालयमा दर्ता भएको उक्त विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एलाइन्सले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता समेतको आधारमा द्वन्द्व पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी प्रस्तुत विधेयक संसोधन गर्न प्रतिनिधि सभा र राजनीतिक दलहरूसमक्ष जोडदार माग गरेको छ ।

एलाइन्सका अध्यक्ष मीन बहादुर शाहीले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयकका प्रावधानहरू सच्याउन माग गरेका हुन् । ‘सशस्त्र द्वन्द्व पीडितहरूसँग पर्याप्त छलफल र परामर्शबिना ल्याइएको यो विधेयकले मानवअधिकार उल्लंघनका घटनाहरूलाई वर्गीकरण गरेर पीडकलाइ उन्मुक्ति दिने खालका प्रावधानलाई सुनिश्चित गर्न खोजेको देखिन्छ ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोग, सम्मानित सर्वोच्च अदालत, संक्रमणकालीन न्यायको क्षेत्रमा कार्यरत समुदायका राय एवम् सुझावहरू र सशस्त्र द्वन्द्व पीडितका आवाजको सम्बोधनले मात्र पीडितलाई न्याय दिन सक्ने तथा दीगो शान्तिको स्थापना गर्न सक्छ भन्ने मानवअधिकार एलाइन्सको ठहर रहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित