शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सभामुख घिमिरेले गरे पत्रकार महासंघका पदाधिकारीसँग छलफल

दैनिक नेपाल २०७९ चैत ६ गते १९:३६

काठमाडौं, ६ चैत । प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज साँझ भएको छलफलमा सञ्चारमैत्री कानून निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धि विधेयकहरुको अवस्थालगायत विषयमा छलफल भएको छ ।

छलफलका क्रममा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको जानकारी गराएको छ ।

सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताएका छन् । उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानून निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाललगायत सहभागि थिए ।

प्रतिक्रिया
सम्बन्धित