बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डलाई प्रश्न– पुरानै गठबन्धनमा फर्किनु थियो भने पुस १० गते किन सहमति गर्नुभयो ? (भिडिओ)

‘प्रचण्डले देशलाई द्वन्द्वतर्फ धकेले, एमालेबिनाको राष्ट्रिय सहमति मान्य हुँदैन'

दैनिक नेपाल २०७९ चैत ६ गते १४:२१

काठमाडौं, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गतेको सहमति तोड्नु पर्ने कारण के हो ? भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै पौडेलले प्रचण्डलाई प्रश्न गर्दै यसको जवाफ आज नदिए पनि इतिहास निरन्तर प्रश्न सोधिरहने बताएका हुन् ।

प्रधानमन्त्री बन्न समर्थन चाहियो भन्दै एमालेसँग पुगेका प्रचण्ड दुई महिनामै काँग्रेससँगैको गठबन्धनमा आएका पौडेलको भनाइ थियो ।

‘सोध्न चाहान्छु के कारण पर्‍यो ? त्यो सहयात्राबाट यो सहयात्रामा आउनुपर्‍यो ? इतिहासले निरन्तर प्रश्न सोधिरहने छ । प्रधानमन्त्री बन्न एमाले चाहिने तर दुई महिना पनि नपुग्दै प्रधानमन्त्री बन्ने बित्तिकै पुरानै फर्किनु थियो भने पुस १० गते किन सहमत हुनु भयो ? इतिहासमा यसको जवाफ दिनैपर्छ,’ पौडेलले  भने ।

पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भने पनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

एमालेबिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमालेको रहेको भन्दै उनले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उनको आरोप छ ।

त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गरे । उनले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित