३० आश्विन २०८३, शुक्रबार

यी हुन् मिसन ग्रासरुटअन्तर्गत आज भएका सात जिल्लाका आठ गतिविधिहरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत देशैभर विभिन्न गतिविधिहरू भइरहेका छन् ।

केन्द्रीय स्तरका नेताहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रमहरू भइरहेका हुन् । यसै सन्दर्भमा आज प्राप्त भएका सात जिल्लाका विभिन्न आठ गतिविधिहरू तल चर्चा गरिएको छ ।

काठमाडौं

नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाभित्र पनि विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

हालसम्म काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, ४, ५, ७, ८ र ९ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमहरूमा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्यद्वय ईश्वरी रिजाल र आनन्द पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।

यस्तै, गत शुक्रबार महानगर कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ भने सोही दिन वडा नम्बर ९ को वडा कमिटी बैठक पनि सम्पन्न गरिएको छ । यसैबीच, हिजो शनिबार गते १८ वटै वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोलिटब्युरो सदस्यद्वय आनन्द पोखरेल र ईश्वरी रिजाललगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो ।

कास्की

मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा (एमाले) रूपा गाउँपालिका वडा नं ५ कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा लामो समयदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका ज्येष्ठ नागरिक र सेल्टरदाताहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले मिसन ग्रासरुट अभियान देशैभर चलिरहेको र यसले नेता र कार्यकर्ताबीचको सम्बन्धलाई कसिलो बनाउँदै पार्टीलाई सुदृढ र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा एमालेको एकल बहुमतसहितको बलियो जितका लागि सबै नेता कार्यकर्ताहरू अहिलेबाटै खटिनुपर्ने अधिकारीको भनाइ थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै कम्युष्टिहरूलाई एक बनाएर बलियो कम्युनिष्ट शक्ति बनाउने प्रयत्न गरे पनि नामका मात्रै कम्युनिष्टहरूले कांग्रेस बोकेर हिँडेको उहाँको भनाइ थियो ।

म्याग्दी

मिसन ग्रासरूट अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ मा पोलिटब्युरो सदस्य मनकुमारी जिसीको प्रमुख आतिथ्यता र टेकबहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी सचिवालय सदस्य गौरी थापाले मन्तव्य राख्नुभएको थियो ।

बैठकले बस्ती र जनतासम्म जाने कार्यक्रम तय गरेको छ । यस्तै बैठकले समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न जनताका पिरमर्कामा एकाकार भएर लाग्नु पर्नेमा जोड दिएको छ ।

चितवन

मिसन ग्रासरुट अभियानअन्तर्गत चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले नगरसभा दल गठन गरेको छ । पार्टी केन्द्रीय कमिटी सदस्य जानुका सिम्खडाको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरसभा दल गठन गरिएको हो ।

बैठकमा नेताहरू पुरुषोत्तम न्यौपाने, खुमनारायण श्रेष्ठ, दिलिपचन्द्र घिमिरे, दिवस पाण्डे, शान्ति अधिकारी, खोमकान्त रेग्मीलगायतका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो । बैठकले सभादलको नेतामा बिनोद रेग्मी र उपनेतामा विमला लामालाई चयन गरेको छ ।

बाँके

मिसन ग्रासरूट अभियानअन्तर्गत नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मण न्यौपानेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा पदाधिकारी बैठक सम्पन्न भएको छ । बाँकेका आठ वटै पालिका कमिटीका अध्यक्ष र सचिवको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले मिसन ग्रासरुटको रिर्पोटिङ, चैत ७ गते हुन गइरहेको प्रशिक्षण कार्यक्रमको तयारी र चैत महिनामा नेपालगञ्जमा हुन लागिरहेको युवा संघको राष्ट्रिय महाधिवेशनलगायतका विषयमा महत्वपूर्ण छलफल र निर्णय गरिएको छ ।

यसैबीच, मिसन ग्रासरूट अभियानअन्तर्गत बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा चार वटा टोल कमिटी र जनवर्गीय संगठन गठन गरिएको छ । जिल्ला अध्यक्ष किस्मत कक्षपतिको आतिथ्यता र वडा कमिटी अध्यक्ष रञ्जुलाल तेलीको अध्यक्षतामा चार वटा टोल कमिटी र जनवर्गीय संगठन गठन गरिएको हो । अध्यक्ष कक्षपति, करिम खाँ र दत्तप्रसाद आचार्यलगायत नेताहरूले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सप्तरी

मिसन ग्रासरुट अभियानअन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ मा वडास्तरीय भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य सञ्जिव कुमार झाको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष छुचहरू मण्डलको अध्यक्षतामा भेला सम्पन्न गरिएको हो ।

भेलाले सदस्यता नवीकरण तथा वितरणलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने निर्णय गरेको छ । साथै भेलामा उपस्थितिहरूलाई प्रशिक्षण समेत दिइएको थियो । भेलामा एमाले नेता एवम पूर्वमन्त्री उमाशंकर अरगरियाको विशेष उपस्थित रहेको थियो ।

यस्तै, डाकनेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, उपमेयर मिरा यादव, पार्टी जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, क्षेत्रीय संयोजक निरञ्जन चौधरी र निर्वाचित वडा अध्यक्ष रमेश चौधरीलगायतको उपस्थिति भेलामा थियो ।

नुवाकोट

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. १ मा अभियान भव्यताका साथ सम्पन्न भएको छ । अभियानमा खटिएनुभएकी केन्द्रीय सदस्य शर्मिला कार्कीले विगतको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई मतदान नगर्ने पार्टी कार्यकर्ता हुन नसक्ने बताउनुभयो । 

एमालेमा बस्ने र एमालेकै उम्मेदवार हराउन भूमिका खेल्नेको पार्टी सदस्यता खारेज गर्नुपर्ने उहाँको धारणा छ । बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले एमाले र अन्य पार्टीमा भएको फरकबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरू बासु कँडुवाल, विजयसिं लोप्चन र नारायणप्रसाद खतिवडाले अभियानको बारेमा प्रकाश पार्नुभएको थियो ।

तारकेश्वर गाउँपालिकामा रहेका ६ वडामध्ये १, २, ३ र ६ नं. वडामा अभियान सम्पन्न भएको र बाँकी ४ र ५ नंबर बाडामा छिट्टै सम्पन्न हुने गाउँ कमिटी अध्यक्ष केशव घिमिरेले जानकारी दिनुभयो ।

कास्की

मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाको ३३ नम्बर वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष दीपकराज लामिछानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै आचार्यले सुढृढ पार्टी, सबल र सक्षम कार्यकर्ता निर्माण गरी विकासको अगुवाइ गर्ने अभियान ग्रासरूट भएको भन्दै जनताका गुनासा र समस्या समाधानमा एमालेलाइ प्रमुख सहयात्री बनाउने उल्लेख गर्नुभयो ।

बैठकमा पार्टी कास्की जिल्ला कमिटी सचिवालय सदस्य शिव प्रसाद आचार्य, जिल्ला कमिटी सदस्य किसान सुनार, पोखरा महानगर कमिटी सचिब जीवन प्रसाद आचार्य, पार्टीको प्रदेश कमिटीको प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साललगायतले अभियान र अबको कार्यभार सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकले अभियानलाई वडाका टोल टोलमासमेत प्रभावकारी रूपले अगाडि बढाउने कार्ययोजना तयार पारेको वडा कमिटीका कार्यबाहक सचिब रमेशराज आचार्यले जानकारी दिनुभयो ।