
काठमाडौं, ५ फागुन । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि साङ्घातिक हमला भइरहेको भन्दै झूटो खबर फैलाएको आरोप लागेका एकजना भारतीय यूट्यूबरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
बिहारका चर्चित यूट्यूबर मनिष कश्यपलाई मिथ्या सूचना फैलाएको आरोपमा बिहार प्रहरीले खोजी गरिरहेको थियो। तमिलनाडुमा प्रवासी कामदारमाथि निरन्तर हमला भइरहेको भन्दै उनले मिथ्या सूचना फैलाएको प्रहरीको आरोप छ।
सामाजिक सञ्जालमा तमिलनाडुमा प्रवासी कामदारमाथि हमला भएको अफवाह फैलिएपछि त्यहा कार्यरत नेपाली मजदुरहरूले समेत आफूहरूले असुरक्षा महसुस गरेको र त्रासमा काम गरिरहेको बताएका थिए।
बिहार प्रहरीले ट्वीट गर्दै मनिष कश्यपले आत्मसमर्पण गरेको जानकारी दिएको हो। कश्यपसहित कैयौँ व्यक्तिहरूले सामाजिक सञ्जालमा तमिलनाडुमा बिहारी मजदुरहरूमाथि साङ्घातिक हमला भएको र कतिपयको हत्या गरिएको अफवाह फैलाएपछि त्यसको असर उक्त राज्यमा कार्यरत नेपाली कामदरामा पनि परेको थियो।
केही साताअघि देखि तमिलनाडुमा कार्यरत उत्तर भारतीय विशेषगरी बिहारका मजदुरहरूमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका थिए।
सामाजिक सञ्जालमा बिहारका मजदुरहरूलाई कुटपिट गरिएको भन्दै पुराना भिडिओहरू पनि प्रसारित गरिएको तथ्य जाँच गर्ने कतिपय भारतीय सञ्चारमाध्यमले जनाएका छन्।















प्रतिक्रिया