
काठमाडौं, १ चैत । सरकारका मन्त्रीहरु र उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक बाहेक भ्रमणमा रोक लगाएको हो । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको जानकारी दिइन् ।
त्यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले यती एयरलाइन्स विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने, नेपाल र अमेरिका अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
बैठकले नागढुङ्गा नौबिसे मुग्लिन सडकखण्ड विस्तारका लागि सडक सीमाभित्रका १ सय २१ घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिएर घरटहराहरु हटाउनका लागि स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ ।















प्रतिक्रिया