३० आश्विन २०८३, शुक्रबार

नेवि संघमा विवाद, स्ववियु निर्वाचनको टिकट पुन: वितरण गरिनुपर्ने माग (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सन्निकट रहेका बेला नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ) मा विवाद उत्पन्न भएको छ ।

संगठनका असन्तुष्ट पक्षले स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप लगाउँदै विवाद सृजना गरेको हो । आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट विद्यार्थी नेताहरूले गैरन्यायिक ढंगले टिकट वितरण भएको आरोप लगाएका हुन् ।

उनीहरूले पुन: सबैको सहमति र सहकार्यमा पुन: टिकट वितरण गरिनुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाहीले स्ववियु निर्वाचनको टिकट वितरणमा अन्याय भएको भन्दै देशभर विरोध गर्ने चेतावनी दिए । उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले संगठनलाई प्राइभेट लिमिटेडमा रूपान्तरण गरेको आरोप लगाएका छन् ।

उनीहरूले केन्द्रबाट नेविसंघको पृष्टभूमि नै थाहा नभएकालाई स्ववियु निर्वाचनमा टिकट वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । उनीहरूले केन्द्रबाट भएको अपारदर्शी टिकट वितरण, विभिन्न जिल्ला र क्याम्पसहरूमा भइरहेको पत्र वितरण कार्य सात दिनभित्र सच्याउन माग गरेका छन् ।

आफूहरूको माग सुनुवाई नभएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।