
नेपालगञ्ज, ३० फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र विदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेटतन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आज मंगलबार नेपालगञ्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद नभइ शान्ति र स्थिरता चहिएको बताउँदै त्यसका लागि राष्ट्रवादी शक्तिहरू एकठाउँमा उभिनुपर्ने बताएका हुन् ।
‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाइँहरूको कमारा वा दास होइनन्,’ उनले भने, ‘अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’ गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने उनको भनाइ छ ।
राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पारे ।















प्रतिक्रिया